धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुने भएको छ । प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा २२ औं साधरणसभा सहित धादिङ जिल्लाको धादिङवेशीमा महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।
‘प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नकालागि मलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ उनले भने ।
कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि उनले विशेष धन्यवाद दिए ।
यसपटकको महाधिवेशनको जिम्मा लिएर महाधिवेशनस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे ।
कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए ।
आठौं महाधिवेशनमा चर्चित गायक पशुपति शर्माले पनि चाहना राखेको बताइएको छ । आफूहरुले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत् नेतृत्व चयन हुँदैगर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीता थापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए ।
अध्यक्षमा आफू दोहोरिने कुनै मनशाय नभएको उनले बताए । आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी १ हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्य पदाधिकारीहरु अमृत अधिकारी, रीता थापा, राजकुमार रायमाझी, प्रकाश बराइलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सुवास केसीले गरेका थिए ।