सरजुन कुमार केसी
नेपालगञ्ज ।
नेपाल खानेपानी संस्थान नेपालगञ्ज शाखाले कार्यालयका कामको सिलसिलामा आवश्यक सामग्री ढुवानी गर्न इलेक्ट्रिक रिक्साको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थको बढ्दो महंगी र स्थानीय स्तरमा साना साना काम गर्न पनि ठूलो धनराशी खर्च गर्नु पर्ने भएपछि शाखाले विकल्पको रुपमा रिक्सा खरिद गरिएको नेपालगञ्ज शाखाका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार ३ लाख कुल लागतको रिक्साले दैनिक ३० देखि ४० किलोमिटरसम्मको यात्रामा सहज हुने छ । ३ वर्षसम्मको वारेन्टी रहेको ब्यट्री दैनिक वा आवश्यकता अनुसार चार्च गरेर चलाउन सकिने छ ।
कार्यालयले दिनु पर्ने सेवामा कहिले सिमेन्ट, छड, जनेनेटर तथा भल्वका चावीहरु बोक्न सहज हुने श्रेष्ठले बताए । शाखाले खर्च घटाउन यस्तो उपाय लगाएको लेखा प्रमुख गणेश वाग्लेको भनाई छ । संस्थानको वितरण शाखा, मर्मत शाखा र उत्पादन कार्यमा सामान ढुवानी गर्न ईलेक्ट्रिक लोडर (रिक्सा) खरिद गर्न केन्द्रले उपलब्ध गराएको बजेटलाई सदुपयोग गर्दै मुल सडक अतिरिक्त साना सडकमा सामान लैजान सहज हुने कार्यालयको भनाई छ ।
नेपाल खानेपानी संस्थान नेपालगञ्ज शाखा बाँके भ्रमण गरेका खानेपानी मन्त्री अब्दुल खाँको मितव्यीता चाहनालाई मध्यनजर गर्दै कार्यालयको एक्सन छिटो भएको एक कर्मचारीले जानकारी दिए । १५ क्विन्टल भारवहन क्षमता भएको रिक्साबाट दैनिक फिल्डमा आउने समस्या समाधान गर्न सहज हुने भएको छ ।