पोखरा ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकलाई बर्बादी हुनबाट नेपाली कांगे्रसले जोगाउने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यसमितिद्वारा आयोजित सम्मान तथा मित्रमिलन कार्यक्रममा सम्बोधन गर्दै स्वच्छ एवं पारदर्शी नेता गुरुङले सवैको सहयोगले देशलाई समृद्धि तर्फ अघि बढाउने बताए । कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष दीपक रेग्मीको अध्यक्षतामा भएको सभामा नेता गुुरुङले निजामती ऐन आम कर्मचारी र उपभोक्ताको हितमा हुने गरी ल्याउनु पर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष रेग्मीले आशा, भरोषा र विश्वासलाई जोगाउँदै सेवा भावलाई निरन्तरता दिने शक्ति युनियन भएकाले त्यसको मर्म र भावना नेपाली कांग्रेसले बुझ्न सक्नु पर्ने बताए ।
प्रदेश सचिव टेकनारायण सुवेदीले सञ्चालन गरेको सभामा गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मुलुकको राजनीतिक यात्रामा ३ वटै तहका सरकारmलाई सफल बनाउने जिम्मा कर्मचारीकै भएकाले केन्द्रिकृत मानशिकता त्याग्न सवै पक्षलाई अनुरोध गरे । नेता पाण्डेले सरकारको गलत योजना तथा नीतिको बारेमा पार्टीलाई जानकारी दिन आग्रह गर्दै प्रजातन्त्र र लोकतन्त्रको रक्षा भएमात्र कर्मचारीको ट्रेड युनियन अधिकार सुरक्षित हुने बताए । कार्यक्रममा नेका केन्द्रीय सदस्य गुरु बराल, नेका स्याङ्जा सभापति एवं सांसद राजु थापा, नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, युनियन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन गुरुङ, युनियन कास्कीका कार्यवहाक अध्यक्ष केदार सापकोटा लगायतले बोलेका थिए ।
सभामा युनियनलाई टेवा दिने वर्तमान तथा अवकाश भएका कर्मचारीलाई सम्मान गरिएको थियो । युनियनले संघ, प्रदेश र स्थानीय तहमा फराकिलो ढंगको निजामती ऐन ल्याउन सरकारलाई आग्रह समेत गरेको छ । कर्मचारी मैत्री ऐन प्राप्त नभए आन्दोलनको चेतवानी दिँदै देश भरका कर्मचारीलाई एकाकार हुन गण्डकी प्रदेश समितिले आग्रह समेत गरिएको गण्डकी अध्यक्ष दिपक रेग्मीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कर्मचारीलाई नआत्तिन आग्रह गर्दै सवै परिस्थितिको जिम्मा लिन आफूहरु तयार रहेको बताएका थिए ।