पोखरा ।
अस्पस्ट सरकारी नीतिले निर्माण क्षेत्रमा समस्या परेको निर्माण व्यवसायीले बताएका छन् । सरकारी नीति अस्तव्यस्त बनेको निर्माण व्यवसायीले गुनासो गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औं साधारण सभा उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी नीति र महंगी बढ्दा निर्माण व्यवसाय प्रभावित हुन पुगेको बताए ।
रसिया-युक्रेन युद्धका कारण त्यसले नेपालमा समेत परेको महंगीको प्रभावले निर्माण व्यवसाय विगतमा जस्तो सहज ढंगले अगाडि बढ्न सक्ने अवस्था छैन, सिंहले भने- निर्माण व्यवसायीले टेण्डर हाल्दा अब गम्भीर रुपमा बिचार पुर्‍याउनै पर्छ । ठेक्कामा पहिले लाखमा नोक्सान हुन्थ्यो भने अब करोडमा नोक्सान हुन सक्छ, निर्माण व्यवसायीले कुनैपनि ठेक्का लिँदा बिचार गम्भीर भएर सोच्नुहोस्, उनले भने ।
यसैगरी सरकारले विभिन्न निर्माण आयोजनाहरुको भुक्तानी विलम्ब गरेर व्यवसायीलाई समस्यामा पारेको आरोप पनि व्यवसायीहरुले लगाएका छन् । धनुषा, महोत्तरी लगायतका जिल्लामा अझै पनि क्रसर उद्योग निर्वाध संचालन हुन नसक्दा निर्माण व्यवसायी मारमा परेको उनको भनाई थियो । सार्वजनिक खरिद ऐन पूर्वाधार मैत्री र मुलुक सुहाउँदो हुनुपर्ने सुझाव पनि राखे ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण व्यवसायीले अब थोरै काम गर्ने तर त्यसलाई सफल रुपमा समयमै सम्पन्न गर्ने बाटोतर्फ अगाढि वढ्नु पर्नेमा जोड दिए । निर्माण व्यवसायीले पायौ भनेर धेरै योजनाहरु ठेक्का लिने तर समयमै काम सम्पन्न नगर्दा योजनाको लागतमूल्य वढ्दै जाने र व्यवसायी घाटामा सहनुपर्ने अवस्था देखिएकै कारण योजना लिँदा गम्भीर भएर सोच्न समेत हिराचनले सुझाव दिए ।
योजना निर्माण कार्य गरिसक्दा पनि समयमै भुक्तानी नपाएर थप पीडा भोग्नु पर्ने अवस्था निर्माण व्यवसायीको रहेको भनाई हिराचनको छ । सरकार देशको दु्रत गतिमा विकास अगाडि वढाउने भन्छ तर निर्माण कार्य अगाडि वढ्ने क्रममा निर्माण सामग्री ठप्प पारेर व्यवसायीलाई थप प्रताडित पार्ने गरेको आरोप उनको छ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लीलकाजी गुरुङले स्थानीय र प्रदेश सरकारविचको अन्यौलता र केन्द्र सरकारले बारम्बार गरेको सार्वजनिक खरिद नियमावलीको संशोधनबाट पर्न गएको असरले समग्र निर्माण व्यवसाय नै धारासायी भएको गुनासो व्यक्त गरे ।
कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापा, संघका सदस्य एवं वडा १७ का सदस्य विक्रम गुरुङ, व्यवसायीहरु कृष्णप्रसाद अधिकारी, भीमबहादुर श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, भरतराज भट्टराई र मुक्तिनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।
संघका सचिव इन्जिनियर शिरशकुमार बास्तोलाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उत्तम सिग्देलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष लिलकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, सदस्य सुरेश श्रेष्ठ र गंगा पोखरेल, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल लगायतले बोलेका थिए ।