पोखरा ।
विद्यार्थीले परीक्षालाई केन्द्रमा राखेर समयदेखि नै पढाई र लक्ष्यमा हिड्न आग्रह गरिएको छ । पोखरा ७ माछापुच्छ्रे टोलस्थित पोखरा लर्नस एकेडेमीको शुभकामना तथा मोटिभेसन कार्यक्रममा उक्त धारणा आएको हो ।
कक्षा ९ को आयोजनामा भएको कक्षा १० तथा एसईई दिने विद्यार्थीलाई प्रेरणा दिन आयोजित कार्यक्रममा हार्डवर्ड एकेडेमीका प्राचार्य श्रीकृष्ण अधिकारीले मानिसको प्रगति प्रेरणाबाट हुने बताएका थिए । प्राचार्य अधिकारीले नजिकै आएको एसईईलाई लक्षित गर्दै विद्यार्थीले भविष्यको यात्रा गर्दा समय, लक्ष्य र कर्मलाई नियाल्न सक्नु पर्ने उल्लेख गरे ।
कास्की जिल्लाको परीक्षा संयोजक समेत रहेका अधिकारीले अभिभावकको इच्छा, चाहना र उद्देश्य पुरा गर्न पोखरा लर्नर्स एकेडेमीमा कक्षा १० मा पढ्ने विद्यार्थीलाई जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि हिम्मत नहार्न आग्रह गरे ।
प्राचार्य अधिकारीले कक्षा १२ सम्म अध्ययन गर्दा धर्म, संस्कार र अभिभावकको अपेक्षा पुरा गर्न लाग्नु पर्ने विद्यार्थीले बरालिने समय नभएको बताए । उनले पढेका कुरा बुझेर पढ्न सक्नु पर्ने भन्दै मोबाईल र टिकटकमा भुल्ने आदतले भविष्यमा डिप्रेसनको सिकार समेत हुन सक्ने खवरदारी गरे । विद्यालयका प्रिन्सिपल विधान गौतमको अध्यक्षतामा भएको सभा कक्षा ९ का विद्यार्थी दिया गुरुङ, आकृति लामा लगायतले सञ्चालन गरेका थिए । पोखरा लर्नर्स एकेडेमीका शिक्षक आदर्श घिमिरेले जीवनको च्यालेन्ज सुरु भएको बताउँदै सफलता प्राप्त गर्न कडा मिहेनतको आवश्यकता रहने उल्लेख गरे ।
विद्यालयद्वारा आयोजित कार्यक्रममा विभिन्न गीतका बोलमा नृत्य, हास्यप्रहसन लागयत सांस्कृतिक कार्यक्रम समेत गरिएको विद्यालयका भाइस प्रिन्सिपल उष्णा गौतमले जानकारी दिइन् । कार्यक्रममा विद्यालयका अभिभावक विश्वबन्धु गौतमले विद्यार्थीको मनोभावना बुझेर अभिभावकसँग सहकार्य र परामर्शलाई ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा शिक्षक गोगेन्सन दर्जीले नृत्य प्रस्तुत गर्दै विद्यार्थीलाई हौसला प्रदान गरेका थिए ।