पोखरा-पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन् । उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन् । सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन् ।

पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने । उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका प्रकाश कुँवर तेस्रो स्थानमा रहे ।पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा जुनियर तर्फ गण्डकी च्याम्पियन बनेको हो ।

कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा आयोजित प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफका सहित ६० खेलाडीको सहभागिता रहेको थियो । महिला तथा पुरुष विजेता खेलाडी १५, १० तथा ५/५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सदस्य प्रकाश बराल, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार एवं नेपाल फेन्सिङ संघका पदाधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।