पोखरा ।
गत माघ १ गते विमान दुर्घटनामा दिवंगत भएकाहरुको आत्म शान्ति तथा चीरशान्तिको लागि पोखरामा प्रार्थना सभा भएको छ । शुक्रबार १३ औं दिनको तीथीमा श्रीमुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (श्रीमुक्तिनाथ बाबा)को सम्लग्नतामा दिवंगत आत्माहरुको चीरशान्ति स्मृति प्रार्थना सभा गरिएको हो । चालक दलसहित ७२ जना यात्रा गरिरहेको यति एयरलाईन्सको जहाज पोखरा ७ र १५ स्थित सेंती खोंचमा दुर्घटना हुँदा ज्यान गुमाउनु परेको दुःखद क्षणमा मुक्तिनाथ बाबाले पोखरामा क्रियाशील धार्मिक एवं सामाजिक संघसंस्थाको अनुरोधमा प्रार्थना सभा आयोजना गरिएको समाजसेवी तीर्थबहादुर बस्नेतले जानकारी दिए ।
मुक्तिनाथ बाबाले आत्माको चीरशान्तिको लागि श्रीविष्णिुसहस्रनाम स्तोत्रको पाठ पारायण गर्दै पवित्र धार्मिक भुमी पोखरा र त्यसमाथि सेती नदी जोडिएको अवस्थामा सन्तुलित ढंगबाट धार्मिक कार्य हुनु पर्ने प्रार्थना गरिएको छ । प्रार्थना सभा श्रीमुक्तिनाथ सन्त सेवाश्रम परिवार, ब्राह्मण समाज नेपाल, क्षेत्री समाज नेपाल, विश्वहिन्दु महासंघ, ब्रह्मचर्याश्रम समिति तथा महर्षि गुरुकुल वेद विद्याश्रम, पोखरा हार्डवयर एशोसियसन, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति पोखरा र दुर्घटना स्थल नजिकैको मितेरी टोल विकास संस्थाको सहभागितामा प्रार्थना सभा गरिएको थियो । उल्लेख्य संख्याको उपस्थितिमा पाठ पारायण गर्दै प्रार्थना सभा भएको थियो । विभिन्न विद्याश्रमका बुटुक तथा धार्मिक गुरुहरुको मुखारविन्दबाट पाठ पारायण भएको थियो ।