काठमाडौं, चन्द्रगिरी ।
घाइत्ते तथा अपाङ्ग भूतपूर्व सुरक्षा कर्मी संघको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिरामणी अधिकारीको अध्यक्षतामा भएको सभामा बारुदी सुरुङ प्रतिबन्ध अभियानका संयोजक पूर्णशोभा चित्रकारले सुरक्षा कर्मीले दिएको योगदानदाई राज्यले कदर गर्न नसकेको बताइन् । प्रमुख अतिथि चित्रकारले कुनै पनि मानिसले आफू कमजोर छु भन्ने भावना नराखी सवै एकै हो भन्ने मान्यता स्थापित गर्न संघले अगुवाई गर्नु पर्ने बताइन् । उनले संस्थालाई एकताको माला बनाई सीपमूलक कार्यमा ध्यान दिन आग्रह गरिन् । देश र समाजकोलागि हरेक मानिसले समर्पण गरिराख्नु पर्ने बताएकी चित्रकारले चीन र भारत ठूलो देखिएपनि अन्य नेपाल भन्दा सानो युरोपियन देशहरुबाट प्रगतिको अनुशरण गर्नु पर्ने बताइन् । कार्यक्रममा संस्थाका अध्यक्ष हिरामणी अधिकारीले देश र जनतालाई केन्द्रमा राखेर जीउज्यानको प्रवाह नगरी विरगती प्राप्त गरेका, वेपत्ता पारिएका सुरक्षाकर्मीका परिवारलाई सरकारले ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी ऋषीराम पंगेनीले सुरक्षा कर्मी संघले देश र जनताकोलागि उल्लेख्य योगदान दिएको बताए । विशेष अतिथि पंगेनीले सीपमुलक तालिम प्राप्त गर्दै सवल र सक्षम बनाउने अभियानमा निरन्तर लाग्न नयाँ नेतृत्वलाई आग्रह गरे । उद्घाटन सभामा पूर्व सुरक्षा कर्मी परिषदका केन्द्रीय उपाध्यक्ष अप्रा प्रनाउ सुदन सिंह बस्नेतले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनाताको अमनचयनलाई ध्यान दिनु पर्ने बताए । उनले अंगभङ्ग भएका सुरक्षाकर्मीको मनोबल बढाउन संघले समयानुकुल परिवर्तनलाई संस्थागत गर्न सुझाव दिए ।
स्थानीय चन्द्रगिरी कुशिरो युवा क्लबको नवनिर्मित कभड हलमा भएको सभामा सोही क्लबका अध्यक्ष केन्द्र महतले क्लब भवनलाई सवैको अपनत्व हुने गरी निर्माण भएकाले स्थानीय संघसंस्थाले उचित ढंगबाट उपयोग गर्न आग्रह गरेका थिए । अप्रासु हेमशंकर गिरीले सञ्चालन गरेको सभामा कुशिरो चौर संरक्षण समितिका अध्यक्ष जीवनबहादुर बुढाथोकीले पर्यटकीय दृष्टिकोणबाट कुशिरो चौरलाई नमुना क्षेत्र बनाउन लागिपरेको उल्लेख गर्दै संघको नयाँ नेतृत्वसँग सहकार्य गर्न तयार रहेको बताए ।
सस्थाको तेस्रो अधिवेशनबाट वसन्तराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा नूरेश्वर अधिकारी, महासचिवमा गोविन्द गिरी, सचिवमा श्याम रावल, कोषाध्यक्षमा जुठे श्रेष्ठ सर्वसम्मत चयन भएको छन् । यसगरी संघको सदस्यहरुमा रामबहादुर तामाङ, रामचन्द्र खड्का, यशोदा खड्का, तुलसी गौमत, अर्जुन पण्डित र लालमणी नाथ सर्वसम्मत भएको स्थानीय समाजसेवी समीर पण्डितले जानकारी दिए ।