धनगढी, २७ पुस । नेपाल खानेपानी संस्थान धनगढी शाखाद्वारा निर्मित पानी पोखरीको बुधबार उद्घाटन भएको छ । धनगढी १ र १२ वडामा निर्मित भएको ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी उद्घाटन भएको हो । उद्घाटन गर्दै नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले विधि, नीति र योजनामा संस्थान चलेको भन्दै कर्मचारीको समस्या समाधान गर्ने पक्षमा आफूहरु रहेको बताए । २ वर्षको अवधिमा ४ वटा मन्त्री र ४ वटा सचिव हेरफेर हुँदा राजनीतिक उथल पुथलले विनियमावली लगायत कर्मचारीको समस्या समाधान नभएको उल्लेख गरे ।
पानी पोखरी उद्घाटन गर्दै खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले कर्मचारीलाई दिने सेवा सुविधामा कुनै कसर नराख्ने बताए । उनले २०५६ सालमा २ वटा ट्यांकीबाट उपभोक्तालाई सेवा दिन सुरु गरेको स्मरण गर्दै हालसम्म आइपुग्दा ६ वटा ओभरहेड पानीपोखरीबाट उपभोक्तालाई सेवा दिन सक्षम भएको बताए । संस्थानमा क्रियाशील युनियनलाई आफूले कमजोर नठानेको बताउँदै सहकार्य गरेर संस्थानलाई सेवामुखी बनाउने प्रतिवद्धता समेत जनाए ।
सञ्चालक समितिका अध्यक्ष भुषाल र महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त उद्घाटन सभामा संस्थानका पूर्व सञ्चालक समितिका अध्यक्ष जीउलाल चौधरीले पानीको कारणबाट लाग्ने रोगबाट बच्न संस्थानले काम गरिरहेको बताए ।
इन्जिनियरिङ महाशाखा प्रमुख बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका संयोजक रामजी अर्यालले मन्त्री मण्डल विस्तार भएसँगै थप गतिविधि अगाडी बढाउने बताए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलालले संस्थान भनेकै कर्मचारी भएकाले उच्च मनोवल प्रदान गर्न व्यवस्थापनले नसकेको उल्लेख गरे । अध्यक्ष धमलालले कर्मचारी विनियमावली, तहगत तालिमको व्यवस्थापन, भेदभाव पूर्ण जिम्मेवारी र प्रतिष्पर्धी कार्यालय निर्माण गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान स्वतन्त्र कर्मचारी संघका अध्यक्ष झगबहादुर डाँगीले व्यवस्थापन एकलौटी ढंगबाट अघि बढे चुप लागेर नवस्ने चेतावनी दिए । कर्मचारी प्रशासन प्रमुख कमल थापाले सञ्चालन गरेको उद्घाटन सभामा धनगढी शाखाका कार्यालय प्रमुख इन्जिनियर शैलेन्द्रकुमार साहले स्वागत गर्दै स्थानीय सरकारसँग सहकार्य गर्दै संस्थान र कार्यरत कर्मचारीको हित अभियानमा लागेको बताए । कार्यक्रममा धन्यवादका पात्र बनेका कार्यालय प्रमुख साहले कर्मचारीले जिम्मेवारी र व्यवस्थापले चुस्त दुरुस्त निर्णय गरे उपभोक्तालाई थप सेवा र सुविधा दिन सकिने बताए । कार्यक्रममा धनगढी १ शान्तिनगरमा जग्गा दान गरेका बाजी आउजीलाई सम्मान गरिएको धनगढी शाखाका लेखा प्रमुख पंकजकुमार दासले जानकारी दिए । कार्यक्रममा विभिन्न शाखाका कार्यालय प्रमुख, लेखा प्रमुख तथा कर्मचारी युनियनका जिम्मेवार पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।