पोखरा, २२ पुस ।
नेपाल खानेपानी संस्थानले पोखराको खानेपानी व्यवस्था गर्न तेस्रो मर्दीको कल्पना गरेको छ । दिनानुदिन बढ्दो सहरीकरण र जनघनत्वलाई ध्यान दिँदै हाल उत्पादन भएको पानीले नपुगेको अवस्थामा यस्तो बताईएको हो । शुक्रबार नेपाल खानेपानी संस्थान हेम्जा शाखाको नवनिर्मित भवन र सुर्खास्थित ५ लाख क्षमताको पानी पोखरी उद्घाटन गर्ने क्रममा संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले पोखराको बसाईसराईको चापलाई ध्यान दिँदै खानेपानी संस्थानले पानीको जोहो गर्न बजेटको अभाव हुन नदिने बताए । पोखरामा हाल मर्दी मुहानबाट १६ र २० इन्चबाट पानी आइरहेपनि हेम्जा तथा सिंगो महानगरमा अर्को पाइपलाईन विस्तारको लागि अध्ययन थाल्न आग्रह गरेका हुन् । अध्यक्ष भुषालले कर्मचारीको अभावलाई पुर्ति गर्न सञ्चालक समिति लागिपरेको बताउँदै कर्मचारी सेवासर्त विनियमावली मन्त्रालयबाट ल्याउन सवै कसरत गरिरहेको उल्लेख गरे ।

संस्थानका महाप्रवन्धक इश्वर प्रसाद र अध्यक्ष भुषालद्वारा संयुक्तरुपमा उद्घाटन भएको भवन र पानीपोखरीलाई व्यवस्थित बनाउँदै कर्मचारीको वृद्धिविकास र स्वच्छ पिउने पानी वितरण संस्थानले नै पुरा गर्ने महाप्रबन्धक इश्वर प्रसादले बताए । उनले सवै मिलेर संस्थानको हित गर्नु पर्ने समय आएको भन्दै कर्मचारीलाई तालिम र उपकरणमा सक्षम बनाउने प्रतिवद्धता व्यक्त गरे । अर्थमहाशाखा प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभामा पोखरा महानगरका प्रवक्ता एवं पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले मौलिक अधिकार रहेको पानीलाई सिंगो महानगर वासीलाई सर्वसुलभ प्रदान गर्न संस्थानलाई आग्रह गरे । उनले पानीकै लागि हेम्जाका नागरिकले पटक पटक संघर्ष गर्नु परेको स्मरण गर्दै छलफल र समन्वय गर्न महानगर तयार रहेको उल्लेख गरे ।

अध्यक्ष तिम्सिनाले प्रशोधित शुद्धपानी हेम्जावासीले पिउन पाउनु पर्ने भन्दै ट्रिटमेन्ट प्लान्टको अवधारणा ल्याउन संस्थानसँग अनुरोध गर्दै आवश्यक जग्गा तथा समयमै सक्ने योजनालाई साथ दिन वडा तयार रहेको धारणा व्यक्त गरे । केन्द्रीय कर्मचारी प्रशासन शाखाका प्रमुख कमल थापाले सञ्चालन गरेको सभामा हेम्जा शाखाका कार्यालय प्रमुख इन्जिनियर संतोषकुमार दासले स्वागत गर्दै स्थानीयस्तरमा सवैसँग सहकार्य र हातेमालो गर्दै जनताको सेवा गर्न आफू तयार रहेको बताए । प्रमुख दासले आफूले जिम्मेवारी सम्हालेदेखि उपभोक्ताको हितमा क्रियाशील भएको स्मरण गर्दै वडासँग निरन्तर छलफल र समस्या समाधानमा लागिपरेको धारणा राखेका थिए । सभामा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थान भनेको कर्मचारी भएको बताउँदै कर्मचारीको हितमा हुने कामलाई स्वागत र अहितमा हुने कामको खुलेर विरोध गर्ने बताए । अध्यक्ष धमलाले कर्मचारी सेवा सर्त विनियमावली ल्याउनु पर्ने, तहगत तालिमको व्यवस्थापन गर्नुपर्ने, भेदभाव रहित कामको जिम्मेवारी प्रदान गर्नुपर्ने, दक्षता अभिवृद्धिकोलागि तालिम दिनु पर्ने, संस्थानमा मितव्ययिता अपनाउनु पर्ने लगायत धारणा व्यक्त गरेका थिए । यसैगरी नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समिर पण्डितले स्थापना कालमा भएको घटना स्मरण गर्दै उपभोक्ताको हितमा सवैकाम संस्थानले गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा तत्कालिन हेम्जा गाविसका अध्यक्ष एवं समाजसेवी रामचन्द्र त्रिपाठीले पानी सञ्चालन र भवन बन्दा संस्थान सुधार भएको उल्लेख गर्दै बढ्दो उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर लामो समय हुने योजना ल्याउन संस्थानलाई अनुरोध गरे । देशमा कर्मचारीले सेवा नसम्झने र राजनीतिक दलले पेशा सम्झनाले समस्या भोगेको स्मरण गर्दै बरिष्ठ अधिवक्तासमेत रहेको त्रिपाठीले खानेपानी जस्तो विषयमा राजनीति गर्ने अधिकार कसैसँग नभएको टिप्पणी गरे । कार्यक्रममा नेपाली कांग्रेस पोखरा २५ का सभापति मधुसुदन त्रिपाठीले संस्थानसँग मिलेर हेम्जाको खानेपानी सुधारकोलागि पार्टी सधै क्रियाशील भएर लाग्ने बताए । सभामा नेकपा एमाले २५ का अध्यक्ष ऋषिराम पौडेलले उपभोक्ताको हितमा कर्मचारीले अनुशासित र मर्यादित भएर सेवा गर्नु पर्ने धारणा व्यक्त गरे ।
उद्घाटन समारोहमा राप्रपा पोखरा २५ का अध्यक्ष कृष्णप्रसाद सुवेदी, नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यलय प्रमुख आशीष कार्की, लेखा प्रमुख पुष्पराज जोशी, कार्यक्रम व्यवस्थान गरेका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मी, पोखरा २५ का अधिकृत छैटौं इश्वरी बास्तोला, समाजसेवी इन्द्रमान श्रेष्ठ, कर्मचारी झलकराम अधिकारी लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।