पोखरा, २५ मंसिर ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था आर्थिक रुपमा बलियो रहेको जनाएको छ । बजारमा तरलताले समस्या परिरहेको खवर आएपनि सयपत्री सहकारी भने आर्थिकरुपले बजारमा कमजोर नभएको बताइएको हो । एक दिने सहकारी प्रशिक्षण कार्यक्रममा सहकारीका अध्यक्ष टीकाबहादुर कार्कीले सयपत्रीले उत्पादनमुखी कार्यक्रम ल्याउने बताए । सेयर सदस्यले संस्थालाई नजिकबाट नियाल्न आग्रह गर्दै उत्पादनमुखी व्यवसायलाई केन्द्रमा राखेर सहकारी चल्ने उल्लेख गरे । अध्यक्ष कार्कीले सबै सेयर सदस्यले सबै प्रकारको कारोबार हेर्न सकिने बताउँदै संस्था र आर्थिक गतिविधि कमजोर भए त्यसको दोष सेयर सदस्यको पनि हुने बताए ।
अध्यक्ष कार्कीको अध्यक्षतामा भएको सदस्य प्रशिक्षण सभामा सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाले सहकारीको आफ्नै भवन र उच्च मनोबल भएका सेयर सदस्यका कारण संस्थाको आर्थिक फाउन्डेसन बलियो रहेको बताए ।
सहकारीका सचिव बसन्तराज कोइरालाले सञ्चालन गरेको सभामा कार्यक्रम संयोजक जनार्दन बास्तोलाले सहकारी भनेकै सहकार्य भएकाले सवै सेयर सदस्यले संस्थाबाट नियमित कारोबार गर्न आग्रह गरे । प्रशिक्षण कार्यक्रममा सहकारीका कोषाध्यक्ष रमेश शर्मा बास्तोलाले पूर्णरुपमा तरलता व्यवस्थापन गरिएको जानकारी दिएका थिए । उनले सयपत्री सहकारी आर्थिकरुपमा अब्बल भएको जानकारी दिँदै सहकारीले प्रदान गरेको प्रविधि युक्त सेवा र सुविधा उपभोग गर्न आग्रह गरेका थिए ।
सहकारीका निवर्तमान उपाध्यक्ष भीमप्रसाद न्यौपानेले प्रशिक्षण दिने क्रममा सेयर रकमको नाफामात्र लिनु भन्दा पनि संस्थाको हितमा गरिने कारोबारले मात्र संस्था दीगो र विश्वाशिलो हुने बताए । १३ करोड ६५ लाख सेयर पुजी रहेको सयपत्री सहकारीमा १ अर्ब ४५ करोड निक्षेप संकलन रहेको सहकारीका कार्यालय प्रमुख विकास सुुवेदीले जानकारी दिए । सयपत्री सहकारीले १ अर्व ५४ करोड ऋण लगानी गरेको जनाएको छ । २२ करोड १० लाख तरलता रहेको प्रमुख विकास सुवेदीले जानकारी दिए । ८ करोड रुपैया जगेडा कोषमा रहेको सयपत्री सहकारीको १ अर्व ९१ करोड वासलत रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।