पोखरा । अंग्रेजी नयाँ वर्षमा गरिंदै आएको सडक महोत्सवलाई यस पटक पनि निरन्तरता दिन लागिएको छ । हरेक वर्ष पुस १३ बाट १७ गतेसम्म पाँच दिन ‘सडकमै खाँउ सडकमै रमाउँ’ भन्ने नाराका साथ खाना संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित यो महोत्सव गर्दै आएको छ ।

आयोजक रेष्टुरेन्ट एन्ड बार एशोसिएसन (रेवान) पोखराले २४औं महोत्सव सभ्य र भव्यरुपमा सम्पन्न गर्नका विभिन्न उपसमिति गठन गरेको छ । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महोत्सव कुनै एक संस्थाको मात्र नभई पोखराको पर्यटन क्षेत्रको प्रवर्द्धन र व्यवसायिक हितका लागि भएकाले सबैले अपनत्व लिएर महोत्सवमा सम्पन्न गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सडक महोत्सव परेकाले पर्यटकमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न र सोही अनुसारमा गृह कार्य जुटन पनि रेवानका सदस्यलाई आग्रह गरे । यतिबेला महोत्सवलाई कसरी थप प्रभावकारी र फरक बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको रेवानका अध्यक्ष नरेश भट्टराइले जानकारी दिए । ‘सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्रान्ड बनेको महोत्सव हो ।

२४ औं सडक महोत्सवको तयारी गरिरहँदा यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव संकलन गरेर उपसमितिहरु बनाएका छौं’, उनले भने,

पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव लिएको र दोस्रो तेस्रो चरणमा पर्यटनविद् लगायत पर्यटन संबद्ध संघ–संस्था, जनप्रतिनिधि, आमा समूह, युवा क्लव, टोल विकास संस्थासंग छलफल गरेर सुझाव लिइने उनले सुनाए ।

बदलिँदो समय अनुसार महोत्सवमा नवीनतम सोच र त्यही अनुसारका गतिविधि समावेश गर्नका लागि विभिन्न २४ उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँडसमेत गरेको रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले बताए ।