पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताएका छन् । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उनले भने, ‘त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’
निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन पाएको उनको भनाइ छ ।
उनले मतदाताले आफूमाथि विश्वास, सद्भाव र भरोसा गरेको भन्दै मतदातालाई निराश पार्ने काम कहिल्यै नगर्ने बताए ।
देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउँदै आएका उम्मेद्बार बरालले समाजको पहिलो प्राथमिकता नै आफ्नो पहिलो योजना हुने उल्लेख गरेका छन् । उनले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताए ।
उनले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताए ।
कास्की काँग्रेसका सभापति एवं ५ दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पारे । उनले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताए । उनले कृषि, शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे ।
उनले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उहाँले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गरे ।
५ सुत्रीय अभियानका साथ चुनावी मैदानमा रहेका बरालले मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भनेका छन् ।
त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो ।
ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने नेता बरालको संकल्प छ ।