पोखरा, २९ कात्तिक ।
बक्सिङका राष्ट्रिय खेलाडी एवं समाजसेवी गणेशबहादुर भट्टराईले देशमा सुशासन कायम गराउन विद्यार्थी जीवनबाटै सिक्न र सिकाउनु पर्ने बताएका छन् । पोखरा ७ माछापुच्छ«े टोलमा रहेको पोखरा लर्नस एकेडेकीको ४ दिने स्पोर्टस् मिट उद्घाटन गर्दै राष्ट्रिय खेलाडी भट्टराईले विद्यालयले खेललाई प्राथमिकता दिँदा अनुशासनको पाटो बलियो हुने बताए । भविष्यका कर्णधार उत्पादन गर्ने थालोमा अध्ययन अतिरिक्त खेल र समाजसेवामा समर्पित हुने बानी बसाल्न बालबालिकालाई सिकाउने कार्य गर्न विद्यालय परिवारलाई आग्रह गरे । देशमा भष्ट्राचार मौलाएसँगै विकास र समृद्धि नभएको बताएका भट्टराईले खेलमार्फत् नेपालको झण्डा विश्वमा फहराउन सकेमात्र पर्यटनमार्फत देशको विकास हुने बताए । विद्यालयका अभिभावक ईश्वरबन्धु गौतमको अध्यक्षतामा भएको सभामा विद्यार्थीले मार्च पास गरेर प्रमुख अतिथि भट्टराईको सम्मान गरेका थिए ।
‘स्वास्थ्य नै खेलकुद हो, खेलकुद नै स्वास्थ्य हो ।’ भनाई राखेका भट्टराईले जीवनलाई खेलमा समर्पित गर्न सके अनुशासन, मितव्ययिता, मिलनसार, सामाजिक सचेतना, राष्ट्र प्रेम र योगदानको बारेमा जान्ने सुनौलो अवसर हुने उल्लेख गरे । निर्णायक क्षमता अत्याधिक हुने खेल जीवनमार्फत आर्थिक र सामाजिक पहिचान सहजै हुने उनको भनाई थियो ।
पढाईमा कमजोर विद्यार्थी खेलमा लाग्छन् भन्ने हिजोको भ्रम चिरिएको भन्दै खेलाडी भट्टराईले खेल जीवन डाक्टर, इन्जिनियर, वकिल, पत्रकार व्यापारी भन्दा कमजोर नभएको धारणा राखे । युवा समाजसेवी भट्टराईले विद्यालय सञ्चालक समिति र शिक्षकलाई राष्ट्र बनाउन सक्ने सक्षम र योग्य नागरिक उत्पादन गर्न आग्रह गरेका थिए । विद्यार्थीलाई सानो सानो विषयमा ध्यान दिन अनुरोध गरेका भट्टराईले राष्ट्र बनाउने जिम्मेवारी विद्यार्थीहरुकै भएको उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल विधान गौतमले विद्यार्थीलाई सवै खेलमा भाग लिन आग्रह गर्दै खेलको महत्वबारे बताएका थिए । विद्यार्थी अमन कुँवरको स्वागतमा सुरु भएको उदघाटन समारोह विद्यार्थी पार्षव गौतम र जमुना रानाले सञ्चालन गरेका थिए । उद्घाटन समारोहमा पोखरा लनर्स एकेडेमीकै कक्षा १० मा अध्ययनरत राष्ट्रिय खेलाडी विवस परियारलाई सम्मान गरिएको थियो । विद्यालयका शिक्षक तथा खेलकुद संयोजक गोगेन्सन दर्जीले खेल तालिका तथा विद्यार्थीबीच हुने विभिन्न खेल बारेमा जानकारी दिएका थिए । पोखरा लर्नस एकडेमीले स्पार्टस् मिटमा बास्केटबल, भलिबल, टेवलटेनिस, फुटबल, बेलुन फुटाई, म्युजिक चियर, दौड लगायत विभिन्न विधाका खेल आयोजना गरेको छ । स्पोर्टस्मिट २०७९ उद्घाटन सत्रमा विद्यार्थीले कल्चरल नृत्य प्रस्तुत गरेका थिए ।