पोखरा, २६ कात्तिक । नेपाल परिवार दलका अध्यक्ष एवं पूर्व मन्त्री एकनाथ ढकालले एमालेसँग मिलेर निर्वाचनमा जानु आफ्नो पार्टीको बाध्यता रहेको बताएका छन् ।
एमालेसँग वैचिारक रुपमा सिद्धान्त मिल्दैन तर पनि संसदमा छिर्नका लागि एमालेसँग चुनावी तालमेल गरेर अगाडि वढ्न लागेको हौँ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै नेपाल परिवार दलले शनिवार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हामी पूर्ण प्रजातान्त्रिक पार्टी हौँ, तर संसदमा जान हामी प्रत्यक्षमा एक्लै चुनाव लड्दा एक सिट पनि नआउने र थ्रेस होल्डमा पनि नपर्ने भएकाले समानुपातिकबाट भएपनि एक जना संसदमा पुगेर आफ्ना पार्टीका कुरा राख्न सकिने भएकाले एमालेको चुनाव चिन्नमा मतदान गर्ने निर्णय गरेका हौँ ढकालले भने ।
एमाले पनि नराम्रो पार्टी हैन, राष्ट्रियता , लोकतन्त्र र समृद्धिका लागि अगाडि बढेको पार्टी हो, हाम्रो एक सय एक जना केन्द्रीय सदस्यको राय पनि त्यही आएकाले आफ्नो चुनाव चिन्न छाडेर सूर्य चिन्नमा भोट हाल्ने निर्णय गरेका हौँ, उनले भने, ‘देशलाई समृद्धिको बाटोतर्फ अगाडि वढाउन वलियो शक्तिको आवश्यकता छ ।’
आफ्नो पार्टी गरिवी निवारण, भ्रष्टाचारको बिरोध र समतामुलक समाजको पक्षमा रहेकाले संसदमा यिनै विषयमा आफूले आवाज उठाउने भनाई ढकालको छ । नेपाल परिवारको घोषणा पत्रमा श्रमिकको सम्मान, उचित ज्याला, सामाजिक सुरक्षा ग्यारेण्टी, गुणस्तरीय र सर्वसुलव शिक्षा, पर्यटन प्रवद्र्धन, कृषि तथा उद्योगमा विस्तार लगायतका एजेण्डा रहेको बताए ।
राष्ट्र र जनतालाई पहिलो प्राथामिकतामा राख्दै प्रतिव्यक्ति आयमा वृद्धि, अन्तरधार्मिक एकता तथा सामाजिक सद्भाव, समानता, समावेशिता, संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य पूरा गर्ने प्रतिवद्धताका साथ आफ्नो पार्टी अगाडि वढेको भनाई ढकालको थियो ।
सो अवसरमा पार्टीका केन्द्रीय सदस्य बाबुराम शर्माले राजनीतिक स्थिरताबाट नै देशको समृद्धि सम्भव भएको बताए । उक्त कार्यक्रमको संचालन पार्टीका नेता रामचन्द्र देपवकोटाले गरेका थिए ।