गण्डकी, २४ कात्तिकः नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गठबन्धनले स्थिर सरकारसँगै सुशासन र आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गरी पर्वत र बागलुङमा आयोजित भ्रमण तथा कार्यकर्ता भेटघाटमा उहाँले स्थिर सरकार विना विकास असम्भव भएको बताउँदै स्थायित्व, सुशासनसँगै आर्थिक क्रान्तिका लागि काँग्रेस सहितको गठबन्धन चुनावी अभियानमा जुटेको बताए ।
संविधानको रक्षा, स्थायित्व, शान्ति र विकासका लागि गठबन्धन आवश्यक भएको बताउँदै उहाँले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि काँग्रेस सहितका दल एक ठाउँमा रहेको जिकिर गरे ।
गण्डकी प्रदेशलाई औद्योगिक उत्पादन वृद्धि गरी निर्यात गर्नुका साथै पर्यटकीय पूर्वाधारको सुधार गर्ने, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गरी आत्मनिर्भर बनाउने, शैक्षिक संस्थाहरुलाई सुधार गर्ने लगायतका दीर्घकालीन योजना अघि सारिएको बताए ।
प्रदेश राजधानी पोखरासँग सबै पालिकाको केन्द्र जोड्ने, १२ महिना सञ्चालन हुन सक्ने सडकलाई दुई लेनको बनाई कालोपत्रे गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने लगायतका योजना गठबन्धनसँग रहेको बताउँदै सभापति शर्माले गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालनसँगै पिछडिएका स्थानहरूको विकासका लागि विशेष योजना कार्यान्वयनमा ल्याउने संकल्प लिइएको धारणा राखे ।
जिल्ला भ्रमण तथा भेटघाट कार्यक्रममा प्रदेशको तर्फबाट चुनाव प्रचार प्रसारको लागि झण्डा, प्रदेशको संकल्पपत्र तथा नमुना मतपत्र पर्वतमा जिल्ला सभापति युवराज जोशी र बागलुङमा जिल्ला सचिव हरिहर शर्मालाई हस्तान्तरण गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य एवम् सूचना, सञ्चार तथा प्रसार प्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
भ्रमण टोलीमा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रवक्ता माधव प्रसाद बास्तोला (मधु), सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिलन थापा, नेपाल लोकतान्त्रिक उद्योग व्यवसायिक संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्मचार्य, सचिव ईश्वर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा लगायतको सहभागिता थियो ।