पोखरा, २० कात्तिक ः
जनताका लागि गर्नुपर्ने केही कामहरु अधुरा रहेकै कारणले आफूले यो पटक कास्की क्षेत्र नम्बर २ (२) का प्रदेशसभा संसदको लागि दोहोर्याएर चुनावी मैदानमा होमिएको बिन्दुकुमार थापाले बताएका छन् । शनिबार भलाममा गठबन्धनको सँयुक्त आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता थापाले अबको कार्यकालमा जनताले विकास र सम्बृद्धिको नयाँ आयाम महशुस गर्न पाउने दाबी समेत गरेका छन् ।
केही राजनीतिक खिचातानीका बीच पनि मैले यस क्षेत्रको विकास र सम्बृद्धिका लागि शुरुवाती कामहरु गरेको छु । र, जनतालाई त्यसबारे जानकारी पनि छ । नेता थापाले भने तर अब मैले शुरु गरेका कामहरुलाई मुर्तरुप दिँदै समयानुसारको विकास र सम्बृद्धिको काम गर्न बाँकी ५ बर्ष ध्यान लगाउनेछु । नेता थापाले अघिल्लो चुनावमा प्रतिकुल अवस्था रहँदा रहँदै पनि जनताले आफूलाई जिताएको सम्झना गर्दै यो पटक पुनः आफूलाई जिताएर जनताको सेवक बन्ने मौका प्रदान गर्न मतदाताहरुसमक्ष आग्रह गरे ।
एउटा क्षेत्रलाई मात्र नभई समग्र राष्ट्र हितका लागि आफूले ती योजनाहरु अघि सारेको उनले बताए । आफ्ना ५ योजनाको बारेमा सविस्तार जनतालाई बताउँदै घरदैलोमा हिँडेको उनले जानकारी दिए ।
स्थानीयले पनि नेताहरुसँग बाटो, खानेपानी र विकास निर्माणको समस्या हल गरिदिन आग्रह गरेका थिए । स्थानीय शेषकान्त शर्माले बाटोका लागि भलाम केन्द्रीय योजनामा पर्न नसकेको गुनासो गरेका थिए । थापाले शर्माको गुनासोलाई निर्वाचित भएसँगै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । साथै थापाले त्यस क्षेत्रको विकासका लागि आफूसँग ५ वटा विभिन्न योजनाहरु रहेको पनि बताएका थिए ।