पोखरा, १९ कात्तिक ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले संगठन बलियो भएमात्र श्रमिकको समस्या समाधान हुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यशाला उद्घाटन गर्दै नेता कार्कीले संगठनलाई निरास बनाउने काम गर्ने छुट कसैसँग नभएको बताए ।
२०५४ सालमा नेपाल ट्रेड युनियन कांग्रेसले उठाएको मुद्धा आजसम्म पूर्ण कार्यान्वयन हुन नसक्नु हरेक सरकारको दोष भएको ठोकुवा गरे । कांग्रेसले नागरिकका जीनवस्तर सुधार गर्न अन्तर्राष्ट्रिय स्तरको क्षमता र दक्षता विकास गर्न लागि परेको स्मरण गर्दै हालको अवस्थामा श्रम मन्त्री र सचिवले गरको निर्णय एनटियुसी र अन्टुपलाई अमान्य भएको उल्लेख गरे । नेता कार्कीले वर्तमान सत्ता साझेदार नेकपा एसले श्रम मन्त्रालयको जिम्मेवारी पाउँदै गर्दा संगठनलाई सामाजिक सुरक्षा कोषको वोर्डको जिम्मेवारीबाट हटाएर श्रमिकमाथि अन्याय गरेको आरोप लगाए ।
सभामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव गणेश केसीले संगठन बचाउन पारदर्शी र जिम्मेवार हुुनुपर्नेमा जोड दिए । मुख्य प्रशिक्षक समेत रहेका केसीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको गति कमजोर हुनुमा नेतृत्व कै कमजोरी हुने बताए । निर्वाचनमा मजदुरका सवाललाई उच्च प्राथमिकता दिने कार्यक्रम ल्याउनेलाई साथदिन आग्रह समेत गरे ।
प्रदेश अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा र प्रदेश समितिका कोषाध्यक्ष घनश्याम रेग्मीको सञ्चालनमा रहेको सभामा एनटियुसीका केन्द्रीय सदस्य जीतबहादुर गुरुङले संगठनलाई बलियो बनाउने नेतृत्व नै सच्चा ट्रेड युनियन कर्मी भएको बताए । पार्टी नेपाली कांग्रेस र संगठनका अगुवा व्यवसायी मुखी बनेकाले मजदुरहरुको समस्या समाधान नभएको बताए ।
आइएलओको आर्थिक सहयोगमा भएको प्रदेश स्तरिय नेतृत्व क्षमता विकास कार्यशालामा प्रदेश भित्रका एघार जिल्लाका अध्यक्ष र सचिवको सहभागिता रहेको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए । कार्यशालामा नेपाल ट्रेड युनियन कांग्रेसको संशोधन तथा परिमार्जन भएको विधान बारेसमेत छलफल भएको थियो । छलफलमा उपाध्यक्ष कार्की र उपमहासचिव केसीले प्रश्नहरुको जवाफ दिएका थिए । ११ जिल्लाका प्रतिनिधिले भाग लिएको सभामा करिव ४० जनाको सहभागिता रहेको थियो ।