पोखरा, १५ कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहे पनि मतदान कसरी गर्ने भन्नेमा मतदातालाई जानकारी छैन ।
कास्की लगायत देशभरका मतदाता हालसम्म पनि अन्योलमा छन् । निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कात्तिक १८ गतेबाट शिक्षा प्रदान गर्न आयोग लागि पर्ने जनाएको छ ।
आसन्न निर्वाचन नजिकै आइसके पनि मतदान कसरी गर्ने भनेर अलमल भएको पोखरा महानगर तथा कास्कीका गाउँपालिकका मतदाताले चिन्ता गर्दै आएका छन् । भोट हाल्ने तरिकाबारे थाहा नभएकाले थप अन्योलमा परेको उनीहरुको भनाई छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा नहुनु सामान्य नै हो, तर निर्वाचन कार्यालयले स्थानीय फोकल पर्सन मार्फत शिक्षा प्रदान गर्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
कात्तिक १८ देखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने न्यौपानेले बताए । उनले मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुने र त्यसमा प्रत्येक वडामा कम्तीमा १ जना स्वयंसेवक खट्ने जानकारी दिए ।
कार्यालय प्रमुख होमनाथ पराजुलीले मतदाता शिक्षा प्रदान गरी बदर मतको संख्या घटाउने भनाई राखे । उनले यसपटकको निर्वाचनमा मतदाताले ४ मतपत्रमा छाप लगाउनुपर्ने बताए । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि १÷१ र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि १÷१ गरेर चार मतपत्रमा छाप लगाउनुपर्ने रहेको छ । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेको कार्यालय प्रमुख पराजुलीले जानकारी दिए । कास्कीमा ३ सय ४४ वटा वुथबाट मतदाताले मत हाल्न पाउने छन् ।