पोखरा, १४ कात्तिक ः
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले ५ दलीय गठबन्धनको साझा लक्ष्य सम्मृद्ध नेपाल निर्माणका लागि रहेको बताएका छन् ।
५ दलीय गठबन्धन निर्वाचन परिचालन समिति कास्की निर्वाचन क्षेत्र नं १ (२) द्वारा आयोजित उम्मेदवार परिचय कार्यक्रममा सभापति नेता शर्माले लोकतान्त्रिक संविधानको रक्षा गर्दै सम्मृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यका साथ गठबन्धन अघि बढेको बताए ।
नेता शर्माले यस पटक कास्कीका ९ वटै सिट गठबन्धनका उम्मेदवारहरुले जित्ने दावीसमेत गरे । विश्व नै सागुरो भएको अवस्थामा नेपाली युवाहरु राजनीतिक रुपमा पनि निकै अगाडि छन् उनीहरुलाई निर्वाचनमा कुन उम्मेदवारलाई मत दिनुपर्छ भनेर भन्नु पर्ने अवस्था छैन, उनीहरु नै विवेक प्रयोग गरी लोकतन्त्रको रक्षा गर्न जान्दछन् नेता शर्माले बताए ।
सोही अवसरमा बोल्दै नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री यज्ञबहादुर थापाले अबको केही दिन २४ सै घण्टा चुनावी प्रचारमा जुट्नु पर्ने बताए । कास्कीका सबै सिट गठबन्धनको पक्षमा ल्याउन यो वा त्यो न भनी सबै एक जुटभएर प्रचारमा जुट्नु पर्ने थापाको जोड थियो ।
नेकपा (एकीकृत) समाजवादीका नेता दिलु पन्तले गठबन्धनबाट उम्मेदवार बनेका सबै आफ्नै उम्मेदवार हुन भनि सबै नेता तथा कार्यकर्ता प्रचारमा जुट्नुपर्नेमा जोड दिइन ।
कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोरदत्त बरालले उम्मेदवार सबै मतदाताको घरमा भोट माग्न जाने सम्भावना नरहेका कारण दुःख नमान्दै मदतान गरिदिन समेत आग्रह गरे ।
कास्की निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार दीपक गुरुङ(माइला)ले लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेको बताए । गठबन्धनले निर्वाचन क्षेत्र नं १ को सितलादेवीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ ।