पोखरा, ३ कात्तिक ।
गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले पोखरामा पहिले नै बनिसक्नुपर्र्ने पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको बताएका छन् । उनले ती पूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँच विस्तार गर्दै समग्र विकास निर्माणलाई गति दिने वातावरण आफूले बनाउने दाबी गरे । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा ४ मा निर्वाचन सम्पर्क कार्यालय स्थापनामा नेता वरालले यस्तो बताएका हुन् ।
पोखरा बसपार्क निर्माण, पोखराको रिङरोड देखि धेरै पूर्वाधार बन्नुपर्ने भन्दै उनले स्थानीय सरकार र प्रदेश सकारसँग सहकार्य गरेर केन्द्रबाट आफूले काम गर्ने बताए । ‘मलाई थाहा छ, यहाँ पहिले नै निर्माण भइसक्नु पर्ने र विकास निर्माणको स्पष्ट खाका कोरेर अगाडि बढिसक्नुपर्ने पहिले नै हो । अपेक्षीत भन्दा धेरै कुरामा हामी पछाडी परेका छौं । यहाँ बसपार्क निर्माण गर्नुपर्ने छ । रिङरोडको स्पष्ट खाका सहित विकास गर्नुपर्नेछ । यि र यस्ता कामहरु स्थानीय सरकार र प्रदेश सरकारसंग सहकार्य गर्दै केन्द्रबाट मैले वातावरण मिलाउने छु’ उनले भने ।
आफूले कास्कीका जनताको भावना बुझेको र जनतासंग सुखदुखमा संगै रहेर काम गरेको स्मरण गर्दै निर्वाचित गरेर अझै कास्की २ का दाजुभाई दिदिबहिनीले आफूलाई नजिक बनाउने उनले अपेक्षा गरे । ‘कास्कीका जनताको भावना बुझेको छु । त्यो भावना अनुरुप केन्द्रमा सशक्त आवाज उठाउने कुरा, जनताको पक्षमा कानुन निर्माण गर्ने कुरा र विकृत राजनीतिलाई सहि ट्रयाकमा ल्याउने कुरामा मेरो सधैं ध्यान केन्द्रित हुनेछ । निर्वाचित गरेर झनै नजिक हुने र यहाँका जनताको भावनासंग अझै नजिक हुने अवसर मलाई प्रदान गर्नुहुनेछ’ उनले भने ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले समग्र गण्डकी प्रदेशको विकास र अझ यसको राजधानी शहर पोखरालाई राजधानीकै रुपमा विकास गर्नका लागि धेरै गर्न बाँकी रहेको बताए ।
उनले कास्की २ (ख)का जनताले अघिल्लो निर्वाचनमा दिएको मतको आफूले इमान्दारिता पूर्वक सम्मान गरेको उनको भनाई छ । ‘यहाँहरुले अघिल्लो निर्वाचनमा मलाई जुन विश्वासका साथ मत दिनुभयो । त्यो मतको सम्मान मैले इमान्दारिता पूर्वक गरेको छु भन्ने लाग्छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशलाई गति दिन ऐन कानून निर्माणमा समय खर्चियौं, प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । ६१ व्टा भन्दा धेरै कानून निर्माण भएका छन् । अब हामीले जोड दिने भनेको विकास र समृद्धिमै हो । त्यसका लागि फेरी एक पटक यहाँहरुको साथ पाउने छु’ उनले भने ।
यसैबिच कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र २ (ख) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु थापाले पोखरा ४ मा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । कांग्रेस र कम्युनिष्ट मिलेर २०४६ मा निरंकुश पञ्चायतका विरुद्ध गरेको आन्दोलनका कमाण्डर सिंहको शालिकमा माल्यार्पण गर्दै उनीहरु फेरी एक पटक कम्युनिष्ट र कांग्रेस एक भएर विकास र समृद्धि ल्याउनुपर्ने बताए ।