पोखरा, २० असोज ।
बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा निरन्तर वर्षा भइरहेको छ । वर्षसँगै विभिन्न क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध बनेको छ । राजधानीसँग जोडिएको तथा नजोडिएको सडक अवरुद्ध हुँदा दशैं मनाउन घर गएकाहरुको यात्रा कठिन बनेको छ । मंगलबार मुग्लिन-नारायणगढ, पोखरा-सुनौली तथा बेंसीसहर-चामे लगायतका सडक अवरुद्ध बनेको हो । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने-जानेहरु समस्यामा परिरहेका छन् । नारायणगढ-मुग्लिन अन्तर्गत सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेसँगै राजपथ (हेटौंडा-पालुङ-काठमाडौं) सडकखण्ड र भिमफेंदी-कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । देशभर आएको पानीले ललितपुरको टुकुचेमा समेत पहिरो गएको प्रहरीले जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक खण्डलगायत म्याग्दी जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध बनेको छ । बेनी-जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायत क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन् । यस्तै लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक समेत अवरुद्ध भएको छ ।

नेपालमा केही दिन निरन्तर वर्षा भइरहेने मौसमविदको अनुमान छ । स्थानीय प्रशासनले आम नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । गण्डक बाधसमेत खोलिएको अवस्था छ । पानीको वहाव बढेसँगै बाँधका ३ दर्जन ढोको खुल्ला गरिएको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले राप्ती राजमार्गमा समेत ठुलो क्षेति पुगेको छ । केही स्थानमा बाटोमात्र आवरुद्ध भएको छ भने केही ठाउँमा घरसमेत भत्केर क्षेति पुगेको छ ।