पोखरा, ११ असोज ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीले बडादशैँ, दीपावली छठ लगायतका चाडपर्वका अवसरमा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रबैँक चोकस्थित संघको कार्यालयको सभाहलमा भएको कार्यक्रममा व्यवसायीहरुले एकापसमा शुभकामना आदान प्रदान गरी व्यवसायिक सफलताको कामना गरे । सो अवसरमा व्यवसायीहरुले बैँक तथा वित्तिय संस्थाहरुले यही असोज १ देखी बैँकको ब्याजदर वृद्धिले कास्कीका निर्माण व्यवसायीहरु मारमा परेको दुःखेसो पोखेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकार चिन्तित नभएको गुनासो गरे । उनले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न हुँदा समेत कतिपय सरकारी कार्यालयबाट व्यवसायीले भुक्तानी पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले भने, ॅव्यवसायीले सम्पन्न गरिसकेको कामको पनि भुक्तानी पाएका छैनन् भने साइट क्लियर नहुँदै ठेक्का आह्वान गर्दा तोकिएको समयभित्र काममा कठिनाई आउने गरेको छ । सरकारले त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।’
नेपाल निर्माण व्यवसायी संघ कास्कीका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका सभापति सुवणर् श्रेष्ठले निर्माण कार्यका लागि आवश्यक चल अचल सबै सम्पत्ति हेभि इक्युप्मेन्ट तथा मेसिनहरु बैंकबाट ऋण लिएर व्यवसायीले व्यवसाय सञ्चालन गरेको अवस्थामा ब्याजदर बृद्धिले मर्कामा पारेको बताए ।
संघको पहलमा महानगरमा निर्माण लाइसेन्स नविकरण सहज बनाइएको र साना ठेक्का सबै व्यवसायीलाई समानुपातिक उपलव्ध गरेर व्यावसायिक एकताको प्रदर्शन कास्कीका भएको श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिमप्रकाश मल्ल, निर्माण व्यवसायी संघ गण्डकीका अध्यक्ष टंकराज बराल, महासंघका केन्द्रीय सदस्य संघका निर्वतमान अध्यक्ष सुरेश श्रेष्ठ, संघका प्रमुख सल्लाहकार शिवशंकर गौचन, सल्लाहकार ओमप्रसाद गौचन, मुक्तिप्रसाद तिमिल्सिना, पोखरा महानगरका निर्वतमान जनप्रतिनिधिद्वय शंकर बास्तोला र तीर्थराज अधिकारी लगायतले चाडपर्वहरुले व्यवसाय विस्तार र सफलता सहित व्यवसायीमा खुशी ल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
संघका सचिव इन्जिनियर शिरिश बास्तोलाले सञ्चालन गरेको सभामा संघका उपाध्यक्ष कृष्णचन्द्र बरालले स्वागत गरेका थिए । सचिव बास्तोलाले निर्माण क्षेत्रमा हुने समस्या समाधान गर्न संघ थप क्रियाशील भएर लाग्ने बताए ।