विकास सुवेदी
पोखरा, १० असोज ।
नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिले गण्डकी प्रदेश भरका इन्जिनियरिङ पेशाकर्मीको हितमा थप सशक्त भएर लाग्ने जनाएको छ । वडा दसैं, तिहार, नेपाल सम्वत, छट, इद तथा क्रिस्मस लगायत पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा पेशागत हितमा वर्तमान नेतृत्वले हरेक सरकारसँग मुकाविला गर्न तयार रहेको जनाएको हो ।
गण्डकी प्रदेश समितिका सभापति बृजेन्द्र केसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान सभामा केसीले स्वागत, विषय प्रवेश तथा आमन्त्रित सवै अतिथिलाई समान अवसर प्रदान गर्दै कार्यक्रम सुरुआत गरेका थिए । सहभागी इन्जिनियरले आफ्नो परिचय दिँदै पेशागत समस्या, समाधान, राजनीतिमा पहँुच र नीतिगत विषयमा इन्जिनियरको भूमिका लगायत विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य सागर भट्टराईले हरेकले पेशागत मर्यादालाई ख्याल गर्दै नीतिगत योजनामा ध्यान दिन सक्नु पर्ने उल्लेख गरेका थिए । पिनका केन्द्रीय उपाध्यक्ष देउकाजी गुरुङले इन्जिनियरहरुले राजनीतिमा हात हाल्नु पर्ने समय आएको बताए । ई.गुरुङले विकशित देशहरुको उदाहरण दिँदै जहाँ नेतृत्व इन्जिनियरहरुले गरेको पाइएकोले नेपाल अघि बढ्न नसक्नुमा शिक्षित वर्गले राजनीतिकरुपमा हस्तक्षेप गर्न नसकेरै देश बर्बादीतर्फ गएको उल्लेख गरेका थिए ।
सभामा सभापति केसीले हरेक तहमा इन्जिनियरको उपस्थिति रहेपनि नीतिगत उपस्थिति नहुँदा अपमान, झमेला, समाजमा आकर्षक पहिचान हुन नसकेको उल्लेख गरेका थिए । सभाका उपसभापति ई. सन्तोष जिसी, सदस्य ई. विश्वास आचार्य, ई. हेमप्रसाद गुरुङ, ई. आनन्दप्रसाद सापकोटा, ई.रमेश बास्तोला, ई.सौगात रेग्मी, ई.सुरेश तिमिल्सिना, ई. विकास सुवेदी, ई.राजेन्द्र प्रजु, डा. दुर्गा बस्ताकोटी, ई.शिरशकुमार बास्तोला, ई. अनुज शेरचन लगायतले गण्डकी प्रदेश समितिले देशभरका विकासे मोडललाई तुलना गर्दै अब्बल सावित गर्नु पर्नेमा जोड दिएका थिए ।
देशलाई रोल मोडलमा लैजान गण्डकी समितिले थप आकर्षक कार्य योजना ल्याउन सुझाव समेत दिएका थिए । इन्जिनियरहरुले संस्थागत राजनीतिलाई ध्यान दिनु पर्ने समय आएको भन्दै इन्जिनियरले गरेको काममा कसैले दोष दिन नसक्ने क्षमता विजयादशमी तथा दिपावली लगायत पर्वबाट प्राप्त होस भन्ने कामना समेत गरेका थिए ।