पोखरा, २३ भदौ । नेपाल खानेपानी संस्थान हेमजा शाखामा इन्जिनियर सन्तोषकुमार दासले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पोखरा शाखा अन्तर्गत खानेपानी सुधार आयोजनाको जिम्मेवारी सम्हालीरहेका दासलाई हेमजा शाखाको कार्यालय प्रमुखसमेतको जिम्मेवारी प्रधान कार्यालयले दिएको हो ।
विहीबार कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका सन्तोषकुमारले कार्यरत कर्मचारीसँग परिचय गर्दै उपभोक्ताको सेवामा ध्यान दिन आग्रह गरेका थिए । कार्यालय प्रमुख दासलाई लेखा प्रमुख पुष्पराज जोशी र प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी लगायतले पदस्थापना गराएका थिए । करिव २२ सयको हाराहारीमा धारा संख्या रहेको हेमजा शाखामा ११ जना कर्मचारी कार्यरत रहेका छन् ।
पोखरा २५ लाई केन्द्रमा राखेर स्थापना भएको संस्थान हालसम्म पोखरा महानगरपालिका वडा नं २५ कै कार्यालयमा रहेको छ । वडा कार्यालय रहेको भवनमा खानेपानी संस्थान स्थापना भएदेखि सञ्चालनमा रहिरहेको छ । कार्यालय प्रमुख दासले हेमजा शाखामा आवद्ध उपभोक्तालाई २४ सै घण्टा स्वच्छ पिउने पानी वितरण गर्ने लक्ष्य रहेको बताए । स्थानीय जनप्रतिधि, उपभोक्ता र पानीको मुहानसँग नजिक रहेका दासले कर्मचारी एकतामा जोड दिए ।
उनले कर्मचारीको एकताले मात्र उपभोक्तालाई प्रभावकारी सेवा दिन सकिने बताए । पदस्थापना गर्दै लेखा प्रमुख जोशीले हेमजा शाखाको वित्तीय विवरण पेश गरेका थिए भने प्रशासन प्रमुख रेग्मीले कर्मचारी विवरणसहित प्रशासनिक विषयको जानकारी दिएको प्रशासन सहायक महेन्द्र रेग्मीले जानकारी दिए ।