पोखरा, १३ भदौ ।
सूर्यचन्द्र विकास समाज पोखराद्वारा आयोजित मालेपाटन आठौं खुल्ला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता जारी रहेको छ । ३० वर्ष माथि र ३० वर्ष कम उमेर समूहबीच भएको प्रतियोगितामा ३० वर्ष माथिको महिला दौडमा रेनु शाही प्रथम भइन । ३० वर्ष कम उमेर समूहको ४ सय मिटर दौड प्रतियोगितामा अनिषा भण्डारी प्रथम भइन् । प्रतियोगितामा ३० माथि उमेर समूहकी सावित्री बराल द्वितीय र तिलु भण्डारी तृतीय भइन । यस्तै ३० वर्ष कम उमेर समूहबाट भाग लिएकी आकी क्षेत्री द्वितीय र सन्ध्या नेपाली तृतीय बन्दै पुरस्कार हात पारिन ।
सूर्य चन्द्र विकास समाजले आयोजना गरेको छेलो हान्ने प्रतियोगितामा ३० वर्ष माथिका समूहकी रेखा कुमारी बराल प्रथम, रेनु शाही द्वितीय र देवी तिवारी तृतीय बन्न सफल भए भने ३० वर्ष कम उमेरबाट अनिषा भण्डारी प्रथम, अस्मिता भट्टराई द्वितीय र सानु भट्टराई तृतीय बन्न सफल भएकी थिइन । समाजका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद वराल रहेका थिए । वडाध्यक्ष बरालले समाजले सामाजिक क्षेत्रमा गरेको उल्लेखनिय कामले पोखराबासीमात्र नभई देशैभर प्रेरणा थप्ने काम भएको बताए । कार्यक्रममा जनप्रतिनिधि कल्पना भुवाँजी क्षेत्री र समाजका सल्हाकार लक्ष्मणप्रसाद कोइरालाले सम्वोधन गरेका थिए ।
महासचिव सावित्री कोइरालाले सञ्चालन गरेको सभामा उपाध्यक्ष कमला गौतमले स्वागत गरेकी थिइन । भदौ १२ गतेदेखि १४ गतेसम्म हुने समारोहको सम्पुर्ण तयारी पुरा भएको समाजका सचिव हेमराज भण्डारीले जानकारी दिए । मालेपाटन आठौं खुल्ला तीज गीत प्रतियोगिताको तयारी पुरा भएको र मुल समारोह वाराही माविको खेल मैदानमा हुने समाजले जनाएको छ ।
तीज गीत प्रतियोगितामा १८ टिमले भाग लिने छन । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १५ हजार, तृतीय हुनेले १० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना हुने टिमले ५ हजार नगद प्राप्त गर्नेछन भने उत्ृकष्ट नृत्य र भेषभुषाले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन । स्थानीय ३३ वटा संघ÷संस्था सह अयोजक रहेको प्रतियोगिता नमुना बन्दै आएको मालेपाटन टोल विकास संस्थाका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।
समाजले विगतदेखि नै गर्दैै आएको व्यक्ति श्रष्टा सम्मान यस वर्ष पनि निरन्तरता दिएको छ । समाजले विभिन्न विधा र क्षेत्रलाई समेटदै सम्मान गर्दै आएको छ । सूर्य चन्द्र विकास समाजले यस वर्ष अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ लाई व्यक्ती श्रष्टा सम्मान अन्तर्गत सम्मान गर्न लागेको समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार वसन्तराज भण्डारीले जानकारी दिए ।