पोखरा, ५ भदौ ।
पोखरा महानगरपालिका वडा नं ११ स्थित फूलबारी क्लबले ३१ औं साधारण सभा सम्पन्न गरेको छ । क्लबले फूलबारी संस्कार सदन भवनको समेत उद्घाटन गरेको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष पे्रमप्रसाद कर्माचार्यले क्लबले सामाजिक सेवामा अत्यन्तै राम्रो काम गरेको बताए ।

क्लबका अध्यक्ष हरिशचन्द्र बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ का निवर्तमान वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको सक्रियतामा पोखरा महानगर र क्लबको संयुक्त लगानीमा निर्माण भएको संस्कार सदनलाई संरक्षण र अनुगमन आवश्यक पर्ने प्रमुख अतिथि विन्दुकुमार थापाले बताएका थिए ।

कार्यक्रममा क्लबका सल्लाहकार माधवप्रसाद बास्तोला, निवर्तमान वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, जनप्रतिनिधि सुशील बास्तोला, अधिवक्ता दीपक बास्तोला, सरस्वती भण्डारी, पुर्व अध्यक्ष टुबराज बास्तोला, हरिप्रसाद बास्तोला लगाएतले सभामा सम्बोधन गरेका थिए ।

कार्यक्रममा फूलबारी क्लबले आयोजना गरेको १५ दिने खुल्ला भजन प्रशिक्षणमा सहभागी १५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकहरु दीपक पौडेल, सञ्जय किशोर बास्तोला र हरिप्रसाद बास्तोलालाई मायाको चिनो सहित कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय प्रकृति बास्तोला, प्रतिक्षा बास्तोला र आरती जैसीको सांस्कृतिक नृत्यले कार्यक्रमलाई मनोरञ्नजनात्मक बनाएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव जर्नादन बास्तोलाले गरेका थिए । संस्कार सदन निर्माणमा आवश्यक अपुग रकम स्थानीय समाजसेवीबाट संकलन भइरहेको क्लबका उपाध्यक्ष मनोज बास्तोलाले जानकारी दिए ।