पोखरा,१ भदौ । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले दसैँ तिहार लक्षित ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी उक्त उपहार योजना ल्याएको जनाएको छ । विगतमा जस्तै ग्राहकलाई नगद उपहार प्रदान गर्न उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले जानकारी दिए । ५ सय रुपैयाँ भन्दा माथिको सामान खरिदमा ग्राहकले निःशुल्क उपहार कुपन प्राप्त गरी लाखौँको उपहार जित्न सक्ने प्याकेज ल्याईएको त्रिपाठीले बताए ।
ग्राहकले पाक्षिक रुपमा नगद तथा सपिङ भौचरका साथमा गिफ्ट ह्याम्पर र बम्परमा १ लाख रुपैँया प्राप्त गर्ने ट्रेड मलले जनाएको छ । बम्पर उपहार विजेताको छनोट गोलाप्रथाबाट गरिने छ । ट्रेडमलको कुनैपनि पसलबाट न्यूनतम ५ सय रुपैँयाको सामान किन्दा १ वटा बम्पर उपहार कुपन साथै १ हजार ५ सय भन्दा माथि सामान खरीद गर्दा ३ वटा कुपन प्राप्त गर्ने उत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष रघु दवाडीले जानकारी दिए । पोखरा ट्रेड मल २०७२ असोजदेखि सञ्चालनमा रहेको छ ।