पोखरा, २२ साउन । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशनको तयारी तीब्र पारिएको छ । समितिका सभापति लालप्रसाद पाठकले दिएको जानकारी अनुसार आगामी भदौ ४ गते शनिबार नारी जागरण अभियान सहित अधिवेशन गर्ने तयारी भएको छ ।
पोखरा ४ गैह्रापाटन स्थित केसी पाटी प्यालेसमा हुने कार्यक्रम स्थल सहज र उपयुक्त भएको कार्यक्रम संयोजक तथा वरिष्ठ उपसभापति यादुप्रसाद ढकालले जानकारी दिए ।
विगतमा समेत उक्त स्थानमा भएको कार्यक्रममा प्रजातन्त्रमा आस्था राख्ने आमा, दिदीवहिनीहरुको उल्लेख्य उपस्थिति रहँदै आएको छ । सचिवको प्रतिवेदन समितिका सचिव माधव लम्सालले तयार गरिहेको छन भने कोषाध्यक्षको प्रतिवेदन समितिका कोषाध्यक्ष किश्वर भट्टले तयार गरिरहेको समितिले जनाएको छ । आगामी नयाँ नेतृत्वमा आउन विभिन्न व्यक्तिले इच्छा जाहेर गरेका छन ।
समितिको नेतृत्व गर्नेलाई नेपाली कांग्रेस धादिङको जिल्ला कार्यसमितिमा आमन्त्रित जिल्ला सदस्य बन्न पाउने भएसँगै नेतृत्व गर्नेको चाहना बढेको सभापति लालप्रसाद पाठकको भनाई छ । वर्तमान कार्यसमितिबाट वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सल्लाहकार कमलबहादुर पाण्डे र प्रेस संयोजक हरि पन्त सभापतिका आकंक्षी रहेको सभापति पाठकले जानकारी दिए । यता निर्वाचन समितिका कृष्णकुमार श्रेष्ठ र डा. ठाकुर सिलवालले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएका छन । पोखरामा रहेर कांग्रेसमा आस्था राख्नेहरुबीच हुने भेलाले विगतमा सर्वसम्मत नयाँ नेतृत्व चयन हुँदै आएको निवर्तमान सभापति केदार धमलाले बताएका छन । ०७२ सालमा विधिवत संगठित भएको समितिले पोखरामा सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको छ ।
समितिले खुल्ला रक्तदान, क्यालेन्डर प्रकाशन, सुख र दुःखमा धादिङबाट पोखरा आउनेहरुलाई पार्टी भन्दा माथि उठेर सहयोग गर्दै आएको छ । पार्टीलाई बलियो बनाउने कार्यमा तल्लिन रहँदै आएको समितिले पार्टीको नीति, योजना र जिल्ला कार्यसमिति कास्की र धादिङको योजना अनुरुप समितिलाई क्रियाशील बनाउँदै आएको छ ।