पोखरा, २२ साउन ।
भौतिक, पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मानव सभ्यता र धर्मको रक्षा गर्ने समय आएको बताएका छन् । श्रीकर्णेश्वर महादेव गुठी संरक्षण तथा शिवालय व्यवस्थापन समितिको सत्रौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन उद्घाटन गर्दैै गण्डकी प्रदेश सरकारका मन्त्री खड्काले सामाजिक सेवा गर्दै आएको संस्थाले नैतिक र अनैतिक बाटोको पहिचान गर्न सक्नु पर्ने बताए । मन्त्री खड्काले क्रिश्चियन धर्मालम्वीको संख्या बढ्नुमा नेपाली सनातन धर्ममाथि भएको आक्रमण भएको बताए । धर्म परिवर्तन र हिन्दु सनातन माथिको आक्रमण राष्ट्रियतामाथि खतरा बढेको उनको धारणा थियो ।
समाजमा भ्रम फैलनेगरी केही बुद्धिजीवीले हिन्दु धर्मलाई कमजोर बनाएर मावन सभ्यतालाई पछाडि धकेल्ने प्रयत्न गरेको मन्त्री खड्काको आरोप थियो । पोखरा १६ लगायत हेमजा, पुरञ्चौर, भलाम विकासको दृष्टिकोणले पछि परेको भन्दै मन्त्री खड्काले देखिने गरी विकासको पूर्वाधार आवश्यक परेको बताए । स्थानीय ५ वटा संस्थाबाट गुरुयोजना तयार गरी २ वर्ष भित्रमा हेर्न लायक बनाउनै पर्ने मन्त्री खड्काले उद्घोष गरे । महेन्द्र गुफा तथा चमेरे गुफालाई इंगित गर्दै ३० वर्ष अघि देखेको जस्तै पाउनु लज्जाबोध भएको बताउँदै पछि पत्ता लागेको गुप्तेश्वर गुफा हेर्न लायक बन्नु यहाँको कमजोरी भएको उल्लेख गरे ।
श्रीकर्णेश्वर महादेव गुठी संरक्षण तथा शिवालय व्यवस्थापन समिति शिवालयका अध्यक्ष नेत्रबहादुर बानियाको अध्यक्षतामा भएको सभामा समितिका सचिव दिपेन्द्र बानियाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रथम उपाध्यक्ष ज्ञानबहादुर बानियाले स्वागत राखेका थिए । पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक अशोककुमार शाही, सम्मानित व्यक्तित्व भगवती थापा, सुरथेश्वर शिवालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी मदनबहादुर खत्री क्षेत्रीले स्थानीय क्षेत्रको विकासमा साझा मुद्धा बनाएर अघि बढ्नु पर्ने समय आएको बताए ।
समितिको पाँचौ अधिवेशनबाट अध्यक्षमा ध्रुवबहादुर बानिया, प्रथम उपाध्यक्षमा हरिबहादुर बानिया क्षेत्री, द्वितीय उपाध्यक्षमा ज्ञानबहादुर बानिया, सचिवमा रेशमबहादुर बानिया, कोषाध्यक्षमा दिपेन्द्र बानिया, सहसचिवमा विष्णुमाया बानिया, सहकोषाध्यक्षमा सूर्यबहादुर वानिया सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक जगतबहादुर बानियाले जानकारी दिए ।
संस्थाको सदस्यमा एकबहादुर बानिया, बोधमाया बानिया (मन्जु), देवेन्द्रबहादुर बानिया, गौरव बानिया, सूर्यबहादुर बानिया र भगवती बानिया चयन भएका छन् । संस्थाले स्थानीय क्षेत्रमा चर्चेको जमिनको संरक्षण, मन्दिरको संरक्षण तथा स्थानीय भजन संस्कृतिको संरक्षण गर्दै आएको छ ।