पोखरा, १९ साउन ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ । पोखरा ११ रानीपौवा प्रधान कार्यालय रहेको सयपत्री बचत तथा ऋण सहकारीले स्थापनाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्दै चुल्हो वितरण गरेको हो । सहकारीको १३ औं वार्षिकोत्सवको अवसरमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारी संस्थाले यस्तै खालका सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्नु पर्ने समय आएको बताए ।

उच्च मनोवल र दूरदृष्टि योजनाले सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्नु संघीय तथा प्रदेश सरकार सँगसँगै हिडेर परिवर्तनमा सयपत्रीले साथ दिएको उल्लेख गरे । उनले गण्डकी प्रदेशको नमुना सहकारीको रुपमा अब्बल स्थानमा रहन सयपत्रीलाई सुझाव दिए । उनले सदस्यको हितका निमित्त आर्थिक उन्नती, समाजमा परिवर्तन र जनचेतना जस्ता विषय सहकारीबाटै सम्पन्न हुँदै जाने धारणा राखे । उनले रक्तदान जस्तो गरिमामय सामाजिक कार्य गर्ने सयपत्री सहकारीले मानव जीवनको रक्षा र रगतको अभाव भोग्नै नपर्ने गरी निरन्तर सहयोग गरेकामा धन्यवाद दिए ।

सहकारीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ९० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक वसन्तराज कोइरालाले जानकारी दिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग, मानविय उद्धार तथा सरकारी नीति तथा योजना अनुरुप विभिन्न कार्य गर्दै आएको छ । सहकारी अध्यक्ष बास्तोलाले स्थापनादेखि नै मुल योजना सामाजिक सेवा र सेयर सदस्य मैत्री सहकारी बनाउने लक्ष्य अनुरुप अघि बढिरहेको बताए । गण्डकी प्रदेशकै नमुना सहकारी बनाउन हामीलाई अझै उर्जा प्राप्त भईरहेको अध्यक्ष बास्तोलाको भनाई थियो । उनले सहकारी संस्थाले सरकारले आह्वान गरेको नीति र नियममा थप सामाजिक कार्यलाई प्रोत्साहन गरिने उल्लेख गरेका थिए । सचिव कृष्णप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहकारीका उपाध्यक्ष भीमप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार माधवप्रसाद बाँस्तोला (मधु), जिल्ला सहकारी संघ कास्कीका प्रतिनिधि दीपक आचार्य, पु्रानोधारा सहकारीका अध्यक्ष कृष्णप्रसाद कोईराला, पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कर्मचार्य, सिजी कम्पनीका बिटुबी मेनेजर सुर्यस् आचार्य लगायतले बोलेको सहकारीका प्रमुख विकास सुवेदीले जानकारी दिए । सभामा सहकारीका कोषाध्यक्ष धर्मप्रसाद बाँस्तोलाले वित्तीय विवरण पेश गरेका थिए । उनले वासलत १ अर्ब ८८ करोड, निक्षेप १ अर्ब ४८ करोड, जगेडा कोष तथा अन्य कोष १० करोड ९० लाख, कर्जा लगानी १ अर्ब ५६ करोड र तरलता २२ करोड ६१ लाख रहेको जानकारी दिएका थिए । विद्युतीय चुल्हो वितरणबाट संस्थाका सदस्य लाभान्वित भएको र आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम गर्दै जाने प्रमुख विकास सुवेदीले जानकारी दिए । सेयर सदस्यलाई सरकारको लक्ष्य अनुरुप सहकारी अघि बढ्नु पर्छ भन्ने मान्यताले निशुल्क रुपमा इन्डक्सन चुल्हो वितरण गरिएको सहकारीले जनाएको छ ।