पोखरा, १७ साउन । नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले नेपाल सरकार प्रदेश तहमा असमान तह र पदका विरुद्ध ज्ञापनपत्र बुझाएको छ । मंगलबार गण्डकी प्रदेश समितिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई इन्जिनियरलाई ६ तहमा नराख्न ज्ञापनपत्र बुझाएको हो । गण्डकी प्रदेश समितिका सभापति बृजेन्द्र केसीको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।
इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिले पोखरा महानगरलाई समेत ज्ञापनपत्र बुझाएको छ । मेयर धनराज आचार्यको कार्यकक्षमा पुगेर असमानता हटाउन एसोसिएसनले दवाव दिएको छ । विज्ञापन माग्दा इन्जिनियरलाई तह घटाउने कार्य निन्दनीय रहेको भन्दै तुरुन्त सच्याउन आग्रहसमेत गरिएको छ । कर्मचारी समायोजन ऐन २०७५ ले ७ तहमा प्रवेश गर्ने तहलाई १ तह घटाएर छैटौं तहमा सेवा प्रवेश गराउनु मानमर्दन र न्याय नहुने एसोसिएसनको ठहर भएको ज्ञापनपत्रमा उल्लेख छ ।
सभापति केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बागमती प्रदेश सरकारले निर्णय सुधार गरेको स्मरण गर्दै गण्डकी प्रदेश सरकारले छिटो भन्दा छिटो निर्णय कार्यान्वयनमा जान माग गरेको छ । नीति र नियम भन्दा माथि कोही नहुने भन्दै समय सापेक्ष बढवा हुनु पर्नेमा घटवा हुनु देश र पेशाको हितमा नरहेको भन्दै सभापति केसीले प्रदेश सरकार सकारात्मक नभए जस्तो कदम चाल्न पनि बाध्य हुने बताएका छन । ज्ञापनपत्रमा प्रदेश र स्थानीय तहमा एकरुपता हुनेगरी नीतिगत व्यवस्था गर्न एसोसिएसनले माग गरेको छ ।
यस्तै पोखरा महानगरलाई सेवा करार पदपुर्ति गर्ने निर्णय प्रति ध्यानाकर्षण भएको उल्लेख छ । २०७९÷४÷२ गते प्रकाशित विज्ञापनमा स्ट्रक्चरल इन्जिनियरलाई छैटौं तहमा माग गरिएको प्रति एसोसिएसनले सच्याउन अनुरोध गरेको छ । विरोधाभाष पुर्ण विज्ञापन सच्याउन माग गर्दै इन्जिनियर पदको मान र मर्यादा कायम गर्नसमेत आग्रह गरिएको छ ।