पोखरा, १२ साउन ।
एभरेष्ट बैंकले आर्थिक वर्ष ०७८/०७९ मा ४३ दशमलव ७७ प्रतिशतले नाफा आर्जन गरेको छ । नाफा बढेसँगै बंैकले साढे २ अर्ब रुपैयाँ नघाएको हो । आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब ७७ करोड ९ लाख नाफा कमाएको थियो । तरलता अभावकै बीच बैंकको व्यवसाय विस्तार गरेर खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आवमा खुद ब्याज आम्दानी ३७ दशमलव १५ प्रतिशतले बढाएर ५ अर्ब ७५ करोड ७४ लाख पुगेको थियो । यस्तै खुद शुल्क तथा कमीसन आम्दानी ३४ दशमलव ३३ प्रतिशतले बढेर १ अर्ब ३ करोड १९ लाख रुपैयाँ पुग्दा बैंकको कुल सञ्चालल आम्दानी ३२ दशमलब ८८ प्रतिशतले बढेर ७ अर्ब ५ करोड ५ लाख पुगेको उल्लेख छ । यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.२४ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४ दशमलव ०६ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैंकको आम्दानीमा भएको वृद्धिले गर्दा सम्भावित कर्जा जोखिमको लागि गरेको प्रोभिजन र कर्मचारी खर्चमा वृद्धि हुँदा पनि बैंकको नाफा बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन २६ करोड २४ लाख गरेकोमा गत आवमा ४६ करोड ३९ लाख जोखिम प्रोभिजन गरेको छ । यस्तै बैंकको कर्मचारी खर्च १ अर्ब ६१ करोड ११ लाखबाट बढेर १ अर्ब ९८ करोड २ लाख पुगेको छ । खर्चमा भएको वृद्धिका बाबजुत पनि बैंकको सञ्चालन मुनाफा ४२ दशमलव ८२ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड ९७ लाख पुगेको छ । निष्क्रिय कर्जा ० दशमलव १२ प्रतिशतबाट बढेर ० दशमलव २५ प्रतिशतमा झार्न सफल बैंकको पुँजी कोष अनुपात १२ दशमलव ४८ प्रतिशतबाट घटेर ११ दशलमव ९५ प्रतिशतमा पुगेको छ । १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ निक्षेप पुगेको बैंकको कर्जा लगानी १ खर्ब ४५ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा भने बैंकको शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा २ अर्ब ४४ करोड ९० लाख ७८ हजार रुपैयाँ रहेको उल्लेख छ । सञ्चित कोषमा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार र जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख ३६ हजार रहेको छ । बजारमा आर्थिक समस्या थपिएकै आवस्थामा बैंकका कर्मचारीको एकता, मिलनसार र स्पस्टताले आकर्षक नाफा आर्जन गर्न सफल भएको बैंकिङ क्षेत्रमा अनुमान गरिएको छ ।