पोखरा, ८ साउन ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हाजिर गरेर काम नगर्ने कर्मचारीबाट उपभोक्ताले सेवा नपाउने बताएका छन । नेपाल खानेपानी संस्थान पोखरा शाखा भिजिटमा आएका मन्त्री चौधरीले अनुशासित, मर्यादित र उत्तरदायी भएर सेवा दिन सिंगो संस्थानमा कार्यरत कर्मचारीलाई निर्देशन दिए । जापान सरकार जाईकाले गरिरहेको करिव ८५ प्रतिशत काम सम्पन्न भएको खानेपानी सुधार आयोजनाको निरीक्षण गर्न पोखरा आएका मन्त्री चौधरीले पर्यटकीय सहर पोखराको पानी शुद्ध, स्वच्छ र सुरक्षित हुनै पर्ने बताए ।
ल्याव निर्माण, देशभर विभिन्न १७ वटा नयाँ शाखा विस्तार, मुहान संरक्षण लगायत विषय उठाएका मन्त्री चौधरीले छिटै खानेपानी तथा सरसफाई ऐन पारित हुने तयारीमा रहेको जानकारी दिए । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री चौधारीले संस्थानको कर्मचारी सेवा सर्त विनियमावली छिटै उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताए ।
पोखरा शाखाद्वारा आयोजित मन्त्रीलाई सम्मान तथा संस्थानको प्रगति विवरण जानकारी दिने सभामा संस्थानका महाप्रबन्धक इश्वर प्रसादले सवै कर्मचारी मिलेर संस्थान बचाउन सक्नु पर्ने उल्लेख गरे । उनले पोखरा शाखा संस्थान कै नमुना शाखा बनाउन आफू क्रियाशील भएर लागेको बताउँदै नयाँ विनियमाली प्राप्त भए पश्चात ४ र ५ तहमा कार्यरत कर्मचारीलाई समायोजन गर्दै संस्थान अघि बढ्ने धारणा व्यक्त गरे ।
सभामा संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले संस्थानको आर्थिक, पानी वितरण प्रणाली, नयाँ योजना, मुहान र उपभोक्तासहितको विवरण विभागीय मन्त्रीलाई बुझाएका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीमाथि विभेद अन्त्य हुनु पर्ने धारणा राखे । धमलाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई करार सेवामा लैजान व्यवस्थापनलाई दवाव दिएका थिए ।
अध्यक्ष धमलाले छिटो भन्दा छिटो विनियमावली ल्याउनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सवै कर्मचारीलाई जोड्नु पर्ने, ४ र ५ तहमा करारमा कार्यरत कर्मचारीको मनोभावना हतोत्साहित हुने गरी कुनै पनि निर्णय नगर्न व्यवस्थापनलाई चेतावनी दिएका थिए । कर्मचारी विष्णुप्रसाद रेग्मीले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका गण्डकी अध्यक्ष हरि पौडेलले मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएका थिए ।