पोखरा, ३ साउन ।
आन्तरिक तथा वाह्य पर्यटकलाई अतिनै समस्या परेको शाैच कर्मलाई पोखरा महानगरपालिकाले सहज बनाउने तयारी गरेको छ । महानगरले व्यक्ति वा निजी कम्पनीका शौचालयलाई निःशुल्क प्रयोगमा लाइने बताएको हो । महानगरको विभिन्न क्षेत्रमा सार्वजनिक शौचालयको व्यवस्था गर्दै उपयोगमा ल्याउने भएको छ ।
देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका छन । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आग्रह गरेको छ ।
बजारका मुख्य र व्यस्त सडकमा बैंक, वित्तीय संस्था, होटल, व्यक्तिका निजी घर, रेष्टुरेण्टलगायतका व्यावसायिक, गैरव्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वमा रहेका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिनका लागि इच्छुकहरूसँग सूचना आह्वान गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले बताए ।
शौचालय प्रयोग गर्न दिने व्यक्ति, संस्था वा कम्पनीको विवरण महानगरको वेबसाइटमा राखिने रिज्यालले जानकारी दिए ।