काठमाडौं, २ साउन ।
नेपाल स्वतन्त्र नागरिक सञ्जालले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सञ्जालले आउँदो शुक्रबार दिनको २ बजे माइतीघरमा प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै शान्तिपूणर् प्रदर्शन गर्ने जानकारी समेत दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सञ्जालले आन्दोलनको चेतावनी दिएको हो । नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले अबको चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज हुनुपर्ने माग गरे । उनले आगामी साउन ६ गते शुक्रबार दिनको २ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने समेत बताए ।
नेपालमा संघीय शासन प्रणाली अर्थात प्रदेशहरू खारेज गरि संविधानमा दुई तहको सरकारमात्र हुने व्यवस्था गर्न माग अघि सार्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने जानकारी समेत गराए ।
उनले मुलुक अत्यन्तै गम्भिर मोडमा पुगेको भन्दै देशलाई अस्थिरताबाट जोगाउन स्वतन्त्र नागरिकहरुले उठ्नुपर्ने बेला आएको टिप्पणी गरे ।
उनले भने,‘समानुपातिक निर्वाचन प्रणाली देशलाई आवश्यक छैन् भन्ने जनआवाजलाई ६०१ सांसदले नसनेर फास्ट ट्रयाकबाट हतार हतार संविधान जारी गरियो । फास्ट ट्रयाकबाट जारी गरेको संविधान नेपाली जनताले रुचाएका छैनन् ।’
सन्जालले उठाएको मुद्दा सम्बोधन गर्नका लागि आउँदो शुक्रबार २ बजे कोटेश्वरबाट बृहत र्‍याली गर्दै माइतीघर मण्डलामा शान्तिपुणर् कार्यक्रम गर्ने संयोजक सुवेदीले जानकारी दिए ।
सन्जालका सदस्य समेत रहेका ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका डा.दीपेश केसीले देशमा विद्रोहको लहर चलिसकेको बताए । उनले देशको चित्तमाथि नै प्रहार भएकाले अस्तित्व जोगाउनका लागि गाउँ टोलबाट विद्रोहको लहर चलेको र यसबाट दलीय राजनीतिका नाममा धनवाद र डनवाद हावी गराएकाहरु आत्तिएको बताए । दलहरुले जनताको जनचाहाना विपरित हिडेकोले ठूलो धक्का खाने ठोकुवा गरे ।
उनले भने,‘दलहरुले देशको चित्त, भाषा, धर्म, संस्कृति गर्दै एकपछि अर्को गर्दैै सबैमा आक्रमण गर्दा देशको संस्कृति नै लोप हुने अवस्थामा पुग्न लागेको छ । यही अवस्था कामय भएमा देशको अस्तित्व नै रहन्छ की रहदैन भन्ने प्रश्न उठछ ।’ डा.केसीले देश भनेको ढुंगो माटो मात्र नभएर संस्कार, धर्म, प्रणाली, पद्धती, भविष्य, इतिहास पनि भएको बताए ।
पत्रकार सम्मेलनमा सन्जालका सदस्य सुनिल केसीले देशमा राजनीतिक दल, दल जस्ता नभएको र नेता-नेता जस्तो नभएको बाताए ।