पोखरा, ३२ असार ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश द्वारा इन्जिनियर डे मनाउने क्रममा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता खेल जारी रहेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो चरणमा विद्यालयमा शैक्षिक तथा स्वास्थ सामग्री वितरण गरेको थियो भने दोस्रो चरणमा नेइए गण्डकी प्रदेशले इन्जिनियर समुदायबीचको भाइचारा सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले पोखरा रंगशालामा फुटसल प्रतियोगिता सुरु गरेको नेईए गण्डकीले जनाएको छ ।
नेइए गण्डकी प्रदेश सभापति ई.बृजेन्द्र के.सीले कार्यक्रमको उदघाटन गर्दै यस कार्यक्रमले इन्जिनियरिङ समुदायबीचको भाइचारालाई अझ प्रगाढ बनाउने बताए । सभापति केसीले रास्ट्र निर्माणको मेरुदण्ड इन्जिनियरिङ समुदायबीच आपसी सदभाव, सहयोग तथा समन्वय हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सडक कार्यालयका सह–सचिव ललित जङ खनालले यस्ता किसिमका कार्यक्रमले इन्जिनियरहरुको डाइनामिजलाई प्रस्तुत गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि ई.रमेश बास्तोलाले इन्जिनियरिङ समुदायमा पेशागत मर्यादा कायम हुनुपर्ने बताए । खेल उद्घाटन हुनु पुर्व भएको कार्यक्रममा सिंचाइ डिभिजन कार्यालय पोखराका प्रमुख ई. किरण आचार्य, नेइएका केन्द्रीय सदस्य ई.सागर भट्टराई, सिडेन गण्डकी प्रदेशका सह–सचिब ई.पारस रेग्मी, कोषाध्यक्ष ई.अबित के.सी, पिन कास्की उपाध्यक्ष ई.रविन्द्रबहादुर गोदार, नियोन प्रतिनिधि ई.आनन्द भट्टराई लगायतले यस्ता रचनात्मक कार्यलाई दिवसमा मात्र सिमित नगरी दैनिक जीवनमा ल्याउन सक्नु पर्नेमा जोड दिएका थिए ।
२३ टिम सहभागी भएको उद्घाटन खेल शुक्लागण्डकी नगरपालिका र आर्क्टेक ईन्जिनियरिङ सेर्भिसेस बीच भएको थियो । प्रथम चरणको खेल सकिएको फुटसल खेल कार्यक्रमका संयोजक ई.हेमबहादुर गुरुङले जानकारी दिए । एसोसिएसन गण्डकीले साउन ३ गते इन्जिनियर दिवसलाई पुर्णरुपमा सफल बनाउन थप क्रियाशील भएर लागेको जनाएको छ ।