पोखरा, ३० असार ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले सप्ताह व्यापी कार्यक्रम गर्दै ६० औं इन्जिनियर दिवस मनाईरहेको छ । एसोसिएसनले स्याङजा पुतलीबजार ५ पौवेगौडेस्थित शीलता माध्यमिक विद्यालयमा स्टेसनरी सामग्री वितरण गर्दै दिवस मनाउन सुरु गरेको कार्यक्रम संयोजक अस्मिता खनालले जानकारी दिइन । गण्डकी प्रदेशका अध्यक्ष बृजेन्द्र केसीको अध्यक्षतामा भएको शैक्षिक सामग्री हस्तान्तरण सभामा पुनपा ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार कार्कीले एसोसिएसनले अत्यन्त राम्रो कार्य गरेको बताए ।
कार्यक्रममा एनइएका केन्द्रीय सदस्य ई. सागर भट्टराई, नेपाली कांग्रेसका महासमिति सदस्य ई. अनुप श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक चिरन्जीवी लम्साल, एसिएन पेन्ट्स गण्डकी प्रदेश इन्चार्ज जीवन अधिकारी लगायतले बोलेका थिए ।
सचिव ई. अन्जन थापाको सञ्चालनमा रहेको शैक्षिक सामग्री हस्तान्तरण सभामा एसोसिएसनका उपसभापति ई. सन्तोष जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । १ सय ३१ जना विद्यार्थी रहेको विद्यालयमा एसोसिएसनले ४० दर्जन कापी, पेन्सिल, इरेजर, कटर वितरण गरेको थियो । एसोसिएसनले स्यानीटरी प्याड दुइ सय थान र ६० लिटर एसियन पेन्ट्स प्रदान गरेको सदस्य ई.विश्वास आचार्यले जानकारी दिए ।
एसोसिएसनले इन्जिनियर समुदायबीच भाइचाराको विकास गराउने उद्देश्यले फुटसल टुर्नामेन्ट, खुल्ला रक्तदान कार्यक्रम, वेदविद्याश्रममा खाध्यान्न वितरण, सरसफाई तथा प्रभातफेरी, दिवस साउन ३ गतेका दिन टेक्निकल कार्यपत्र प्रस्तुत लगायत कार्यक्रम गर्दै दिवस मनाउन लागेको गण्डकी प्रदेशका सभापति बृजेन्द्र केसीले जानकारी दिए । शैक्षिक समग्री हस्तान्तरण सभामा पौवेगौडेस्थित ऐतिहासिक स्थल नुवाकोटको विकासको लागी आवश्यक डिपिआर तयार गर्न गण्डकी प्रदेश समिति तयार भएको अध्यक्ष केसीले बताएका थिए ।