काठमाडौं, २७ काठमाडौं ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताएका छन् ।
मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास गर्दै मन्त्री चौधरीले खानेपानीको समस्यामा परेका काठमाडौबासीलाई मेलम्चीको पानी ल्याउने सपना सरकारले पुरा गर्ने बताएका हुन् ।
खानेपानी मन्त्री चौधरीले २ पटकसम्म प्रधानमन्त्री हुनु भएका स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री निवासबाट आफ्नो सम्पतिको रुपमा टिनको बाकस, सुराही र छाता मात्र लिएर निस्किएको भन्दै उनी जस्ता त्यागी राजनेता पाउन कठिन भएको बताए ।
काठमाडौंको प्रत्येक घरमा मेलम्चीको पानी खुवाउने किशुनजीको सपना पुरा गर्न सरकारले कुनै कसर बाँकी नराखेको भन्दै उनले भट्टराईको शालिकको उद्घाटन वर्तमान सरकारकै पालामा हुने बताए । उनले एसियाली विकास बैंकको प्रारम्भिक रिपोर्ट आएको र विस्तृत रिपोर्ट आए बमोजिम सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानीको हेडवक्र्स क्षेत्रको मर्मत सम्भार गरी स्थायी रुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिने बताए ।
उनले मेलम्चीको बिकल्पमा बागमतिबाटै थप पाँच करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सिस्नेरीबाट करिव १५ करोड लिटर पानी काठमाडौं ल्याईने बताए ।
प्रतिनिधिसभाबाट खानेपानी तथा सरसफाई सम्वन्धी विधेयक पारित भइसकेको जनाउँदै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंबासीको घर घरमा पु¥याएको खण्डमा पूर्वप्रधानमन्त्री स्वर्गीय भट्टराईको सपना पुरा हुने बताए । पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले स्वर्गीय कृष्णप्रसाद भट्टराई स्वच्छ छविको निष्कलंक र सन्त नेता भएको जनाउँदै मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने सपना पुरा गर्न लागेकोमा मन्त्री र सरकारलाई धन्यबाद दिए । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका महासचिव बिनोद भट्टराईले प्रधानमन्त्री भइसक्दा पनि बालुवाटारबाट निस्कँदा आफ्नो निजी सम्पतको रुपमा सुराही, छाता र टिनको बाकस मात्र लिएर जानु भएको बताए । निजी सम्पती आर्जनमा कहिल्यै ध्यान नदिने भट्टराई इमान्दारिताको प्रतिमुर्ती भएको बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले किसुनजीको योगदान र पहिचान झल्किने गरी पूर्णकदको शालिक निर्माण गर्न सुझाव दिँदै नगरपालिकाले किसुनजीको शालिक र पार्क क्षेत्रको संचालन र संरक्षण गर्ने बताए ।
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले किसुनजी सुशासनको प्रतिमुर्ती भएको जनाउँदै जनस्तरबाटै आलोचना र बिरोध नखेपेका नेपालका एक मात्र प्रधानमन्त्री भएको दाबी गर्नु भयो । उहाँले किसुनजी जस्ता त्यागी नेतालाई सम्झिएकोमा खानेपानी मन्त्री र मन्त्रालयप्रति आभार ब्यक्त गरे ।
कांग्रेस काठमाडौंका सचिव दिपक पुडासैनीले मेलम्चीको पानी काठमाडौं ल्याएर सडक पखाल्ने योजना सुनाउँदा मन्त्री विरोधीले अनेक आलोचना गर्ने गरेको तर आज किसुनजीको सपना पुरा भएको बताए । खानेपानी मन्त्रालयका सचिव मणीराम गेलालले किसुनजीको शालिकसहितको पार्क निर्माण हुने भन्दै मन्त्री परिषद्ले गरेको निर्णय बमोजिम जिम्मेवारी पुरा गर्न मन्त्रालय तयार भएको बताए ।
मेलम्ची खानेपानी विकास समितिको एक करोड रुपैयाँ बढीको लागतमा निर्माण गरिने शालिक सहितको पार्क निर्माण यही मंसिरसम्म गरिसक्ने लक्ष्य रहेको छ ।