पोखरा, १५ असार ।
नेपालमा जुनसुकै पार्टीको सरकार बनेपनी मजदुर विरोधी बन्दै आएको छ । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले उक्त धारणा राखेका हुन । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको आयोजनामा भएको असारे पन्ध्र तथा दहि च्युरा खाने पर्वका अवसरमा अध्यक्ष शर्माले मजदुरको समस्या समाधान गर्न सवै ट्रेड युनियन कर्मी एक हुनुको विकल्प नभएको बताए । उनले खानेपानी संस्थानमा करारका कर्मचारीको समस्या समाधानमा ट्रेड युनियन कांग्रेसको तर्फबाट पुर्ण सहयोग हुने बताए । नेता शर्माले मजदुरको मनोभावना बुझ्न नसक्नु नेपाल सरकारको दोष रहेको औंल्याए ।
कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनिल शर्मा सुवेदीको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले परंपरागत संस्कृतिको संरक्षण र जगेर्ना गर्ने कर्मचारी संघलाई धन्यवाद दिँदै उपभोक्तालाई सेवा दिने संस्थामा कार्यरत कर्मचारी असुरक्षित हुनु, लामो समयसम्म करार तथा ज्यालादारीमा रहनु नकारात्मक भएको बताए ।
कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीका अनेकन समस्या भएको बताउँदै समाधानमा आफू क्रियाशील भएर लाग्ने बताए । अध्यक्ष धमलाले हालै प्रकाशित करार सेवाको विज्ञापनमा व्यवस्थापनले मनोमानी ढंगबाट अघि बढे चुप लागेर नबस्ने बताए । राष्ट्रिय धान दिवसको समेत अवसरमा अध्यक्ष धमलाले किसानले जसरी मेहनेत गरेर असार सम्पन्न गर्छन् त्यसै गरी कर्मचारीले वर्षै भर मेहनेत गरेर उपभोक्तालाई सेवा दिनु पर्ने बताए । संघको स्थापना दिवसको समेत अवसरमा भएको कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्कीका उपाध्यक्ष रुककुमार श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै इकाई समिति पोखराले गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कर्मचारी संघ इकाई समितिका सहसचिव विमल तिम्सिनाले सञ्चालन गरेको सभामा संघका सदस्य विक्रम बरुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका प्रतिनिधि हरि पौडेलले शुभकामना दिँदै कर्मचारीका हरेक समस्या समाधानमा एउटै आवाज बनाएर जानु पर्ने धारणा व्यक्त गरे ।