पोखरा, २९ जेठ । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेश सरकारका कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखराको विकासमा धादिङका नागरिकको ठूलो भूमिका रहेको बताएका छन । जन्म थलो छोडेर कास्की र पोखरा महानगरमा विगतदेखि गर्दै आएको संघर्ष र योगदानको कदर गर्दै नेता थापाले धादिङबासी विकासका साधक भएको बताएका हुन् ।
नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ब्लड ब्याग हस्तान्तरण गर्दै राजनीति गर्ने सवैलाई समेटने योजना आफुले बनाएको बताए । मन्त्रालयबाट हुने सहयोग पुर्णरुपमा आफूले गर्ने र पार्टीका तर्फबाट हुने सहयोग पुरा गराउन सधै अगाडि सर्ने बचनसमेत दिए ।
सम्पर्क समितिका सभापति एवं नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका सदस्य लालप्रसाद पाठकको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले नेवि संघमा संगै राजनीति गदै आएका हामी, मोहन पण्डित, रामप्रसाद अधिकारी, केदार धमलाको नाम लिँदै धादिङ कांग्रेसलाई बलियो बनाउन लाग्न सुझाव दिए ।
बरिष्ठ उपसभापति यादुप्रसाद ढकालले स्वागत गरेको सभा सचिव एवं पर्यटन व्यवसायी माधव लम्सालले सञ्चालन गरेका थिए । ७४ युनिट रगत संकलन भएको कार्यक्रममा कार्यक्रम संयोजक लालप्रसाद ढकाल(सन्देश)ले यस्तो मानवीय कार्यलाई निरन्तरता दिने बताए । समितिको पहलमा पहिलो पटक भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिताले आयोजक खुसी भएको थियो । रक्तदानले जीवन दिने भन्दै एमाले धादिङ पोखरा सम्पर्क मञ्चका शेरबहादुर अधिकारीले शुभकामना दिएका थिए ।
उनले धादिङबाट पोखरा आएर नेपाली कांग्रेसले उत्कृष्ठ कार्य गरेको भन्दै सवै पार्टीले अनुशरण गर्न सक्नु पर्ने बताए । कार्यक्रममा डाक्टर ठाकुर सिलवाल, समाजसेवी कृष्णकुमार श्रेष्ठ, सल्लाहकार कमलबहादुर पाण्डे, स्वतन्त्र नागरिक कृष्णबहादुर लम्साल, समाजसेवी होमनाथ सिलवाल लगायतले सकारात्मक कार्यको सवैले प्रशंसा गर्न सक्नु पर्ने बताएका थिए । रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा करिव २ सय जनाले सहभागिता जनाएका थिए । रक्तदान कार्यक्रममा त्रिपुरा बाराही महिला समूह, नेपाल विद्यार्थी संघ धादिङ पोखरा सम्पर्क समिति, ट्याक्सी इकाई समिति, समिति आवद्ध युवा तथा व्यवसायी समिति, तरकारी तथा फलफुल व्यवसायी समिति लगायतले उल्लेख्य उपस्थिति रहेको समितिले जनाएको छ ।