पोखरा, २२ वैशाख ।
पोखरा ८ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा वार्षिक पुरस्कार, छात्रबृत्ति वितरण तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको सभामा पोखरा ८ का कार्यवहाक अध्यक्ष लक्ष्मी कौशलले विद्यालयको हित भनेकै विद्यार्थीको पठन पाठन भएको उल्लेख गरे ।
उनले अध्ययनसँगै चौतर्फी ज्ञानमा ध्यान दिन सक्नु पर्नेमा जोड थियो । विद्यालयका प्रधानाध्यापक देवीप्रसाद वस्ताकोटीले पुरस्कृत विद्यार्थीलाई मेहनत गरेरै विद्यालयको गरिमा जोगाउन आग्रह गरे । विद्यालय प्रति अभिभावकको चासो बढेमात्र विद्यार्थीले शैक्षिक सफलता प्राप्त गर्ने बताए । ४८ वटा सिसी क्यामराबाट विद्यार्थी एवं शिक्षकको अनुगमन गरिरहेको बताउँदै व्यवहारिक र प्रविधिमैत्री विद्यालय बनाउन सवैको पहलकदमी र सहकार्य आवश्यक हुनेमा जोड दिए ।
सहायक प्रधानाध्यापक ऋषिराम अधिकारीको सञ्चालनमा भएको सभामा विद्यार्थीहरुले नृत्य तथा हास्यप्रहशन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष टीकाराम पौडेल, अभिभावक हुमनाथ सिग्देल, विद्यार्थी आकृति सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । करिव २ हजार विद्यार्थी अध्ययन गर्दै आएको जनप्रिय माविले कक्षा नर्सरीदेखिका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रमा अभिभावकहरुले विद्यार्थीको अन्य क्रियाकलापलाई ध्यान दिन विद्यालय परिवारलाई आग्रह गरेका थिए । समय सापेक्ष शिक्षा, खेलकुद, पुस्तकालय, भ्रमण तथा अतिरिक्त गतिविधिमा छोराछोरीलाई सामोल गराउँदै लैजानु पर्ने सुझाव दिएका थिए ।