पर्वत,२२ चैत ।
पाँचदलको केन्द्रिय तथा प्रदेशको निति अनुसार पर्वतमा पनि सरकारमा आबद्ध पाँचदलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ । पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको ५ दलका प्रमुख प्रतिनिधीहरुको बैठकद्धारा आगामी स्थानिय निर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे ।
५ दलमा आबद्ध नेपाली काग्रेसका सभापति यूवराज जोशीले प्रतिगमनका बिरुद्धमा गठबन्धन बनेको बताउँदै पाँच दल आवद्ध गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । उनले आवश्यकताले गठबन्धन बनेको बताउँदै ५ दलका बिचमा आपसी छलफल गरेर उम्मेदवारहरु तय हुने भएकाले सबै काँग्रेसी कार्यकर्ताहरु इमान्दारितापूर्वक साझा उम्मेदवारलाई जिताउन लागिपर्ने विश्वास दिलाए । सभापति जोशीले कुन कुन पालिका र वडामा कुन कुन दललाई उम्मेदवारको भागबण्डा लगाउने भन्ने विषयमा मिहिन तरिकाले छलफल चलाएको भन्दै केहि दिनमा सुखद नतिजा आउने जानकारी दिए ।
काँग्रेस सहित माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशिको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचनमा क्षेत्र, पालिका र वडा तहमा साझा उम्मेदवार बनाउने र साझा संयन्त्रको निर्माण गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका केशव कूँवरले गठबन्धन लाई बिथोल्न एमाले पार्टी विभिन्न वाहना बोकेर गाउँ पसेको बताउँदै उनीहरुको भ्रममा नपर्न कार्यकर्तालाई अनुरोध गरे । उनले गठबन्धनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको सुनाएका थिए ।
नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एव जिल्ला अध्यक्ष मोती पौडेलले ओली प्रवृतिले संविधान र गणतन्त्र मास्ने काम गरेको हुनाले गठबन्धन बनेको भन्दै इमान्दारिता पूर्वक स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवार जिताउन सहयोग गर्न आव्हान गरेका छन्। पौडेलले पर्वतमा एमाले लाई आसन्न स्थानीय तहको चुनावमा सोत्तर पार्ने गरि गठबन्धन हुने जनाए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ढाकाराम गौतमले शिशु गणतन्त्र र संबिधानका उपलब्धीलाई केपी ओलीले बुटले किचेको भन्दै संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासका लागि बाम लोकतान्त्रिक गठबन्धन बनाइएको बताए । राष्ट्रिय जनमोर्चाका बुद्धिराज गौडेलले केपी ओलीले देखाएको प्रतिगमन विरुद्ध गठबन्धनलाई ससक्त बनाउदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले गरेेका थिए ।