पोखरा, १४ चैत ।
पोखरा ११ रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण उत्साहजनक भएको सहकारीले जनाएको छ । सहकारीमा आवद्ध सेयर सदस्यलाई नेपालका पुर्वी जिल्लाका पर्यटकीय स्थल, धार्मिक स्थल र सहकारीको भौगोलिक तथा स्थलगत अध्ययन गर्दै भ्रमण सकिएको सहकारीका अध्यक्ष रवीन्द्र बास्तोलाले जानकारी दिए ।
चैत १० गतेसम्मको भ्रमणमा सिन्धुली, रामेछाप, ओखलढुंङ्गा, खोटाङ, भोजपुर, धनकुटा, ईलाम, पाँचथर, झापा र ताप्लेजुङ लगायत जिल्लामा रहेको उत्कृष्ठ सहकारीको अवलोकन गर्दै भ्रमण सकिएको कार्यक्रम संयोजक बसन्तराज कोईरालाले जानकारी दिए ।
भिन्न भिन्न उद्देश्य बोकेर स्थापना भएको सहकारीबाट सयपत्री सहकारीले लागु गर्न सक्ने योजनाको बारेमा प्रतिवेदन तयार गरिएको सहकारीले जनाएको छ । सहकारीको भौगोलिक तथा स्थलगत अध्ययन गर्दा ताप्लेजुङको पाथीभारा माईको दर्शन, खोटाङको हलेशी महादेवको दर्शन, ईलामको चियावगान अवलोकन गरेका थिए ।
भ्रमणमा सहभागी सयपत्री सहकारीका ७३ जना सेयर सदस्यले प्राप्त गरेको अनुभव कार्यालयमा साटासाट गरेको कार्यक्रम संयोजक कोइरालाले जानकारी दिए ।
संस्थाका प्रबन्धक विकास सुवेदीले संस्थाले बिगत वर्षजस्तै कार्यक्रम गरेर राज्यलाई आन्तरिक पर्यटनमा टेवा दिएको बताए । कोभिड महामारीले आक्रान्त पारेको सहकारीलाई थप चलायमान बनाउन भ्रमण फलदायी भएको सुवेदीको भनाई थियो ।