काठमाडौं, १० चैत । नेपाल स्वास्थ्य प्राविधिक संघको २६ बुंदे घोषणा पत्र जारी गर्दै दशौ महाधिवेशन सम्पन्न गरेको छ । संघले चैत ७ र ८ गते महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनले बसन्त श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
संघको महाधिवेशनले स्वास्थ्यकर्मीको नियुक्ती, पदस्थापन र बढुवा पारर्दशी र निष्पक्ष बनाउन र सरुवा प्रक्रियालाई चक्रिय प्रणालीमा आधारीत बनाउन प्रस्ताव गरेको छ । विभिन्न समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न ट्रेड युनियन बिच भएको सम्झौता र सहमतिहरु अक्षरंस पालना गर्न पनि सरकारसँग संघले आग्रह गरेको छ । संघले हाल विद्यमान संगठन संरचना र दरबन्दीलाई वैज्ञानिक र यथार्थपरक बनाउन संगठन तथा ब्यबस्थान सर्वे गरी समस्या समाधानको लागि पहल गर्न र संघ, प्रदेश र स्थानीय तहमा तह अनुसारको पद श्रृजना गरी पदस्थापना गर्न समेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै दशौ महाधिवेशनबाट अध्यक्ष बनेका बसन्त कुमार श्रेष्ठले नेपाल स्वास्थ्य प्राविधिक संघको जन्म संघर्षमय भएको सुनाए । महाधिवेशनले जारी गरेको २६ बुंदे घोषणा पत्र कार्यान्वयनमा जोड दिइएको छ । अध्यक्ष श्रेष्ठले निजि अस्पताल, नर्सिङ्ग होम, निजि स्वास्थ्य किल्नीकहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको श्रम शोषण भै रहेको उल्लेख गर्दै उनीहरुको योग्यता अनुसार सेवा सुविधा उपलब्ध गराउन समेत माग गरे ।
कार्यक्रम सञ्चालन गर्दै संघका महासचिव श्यामकुमार ओलीले डाक्टरले बाहेक औषधी अरुले लेख्न नपाउने व्यवस्थाविरुद्ध संघको स्थापना भएको बताए । २०३६ सालमा स्थापना भएदेखि अहिलेसम्म निरन्तररुपमा क्रियाशिल रहेको समेत स्पष्ट पारे । स्वास्थ्य प्राबिधिक शिक्षाको गुणस्तरियता कायम राख्नको लागी सम्बन्धित परिषदलाई सम्बन्धित क्याम्पसको स्विकृति तथा रद्ध गर्ने अधिकार प्रदान गर्ने ब्यबस्था मिलाउन माग गर्ने समेत महाधिवेशनले प्रस्ताव गरेको छ ।