केदार धमला
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ । सरकारले निर्धारत समयमै निर्वाचन गराउने तयारी गरिरहेको छ । भौगोलिक हिसावले देशकै ठूलो महानगर पोखरा महानगरमा उम्मेदवारहरुको चर्चा चल्न थालेको छ । विगतदेखि वर्तमानसम्म हेर्ने हो भने गरिनु पर्ने र गर्न नसकेको कामको पनि व्यक्तिगत आधारमा चर्चा हुन थालेको छ । गाउँगाउँमा सिंहदरवार आएको भनेर प्रचार गरिएजस्तो कुनै पनि स्थानीय तहबाट सेवाग्राही सन्तुस्त बन्न नसकेको अवस्था छ ।
५ वर्षको समयमा पोखरा महानगरले व्यवस्थित वसपार्क सम्म बनाउन सकेन । न उर्वर भूमीहरु व्यवस्थित नै राख्न सक्यो । भन्न त अव्यस्थित विजुलीका तार व्यवस्थापनदेखि फिर्के खोलाको मापदण्ड मिलाउनेसम्मका कुरा भए तर, पोखराको वर्खे भेलको व्यवस्थापन समेत हुन सकेन ।
विगतदेखि हालसम्मको अवस्थालाई हेर्ने हो भने तत्कालिन पोखरा उपमहानगरपालिकाका मेयरहरुले पनि धेरै नयाँ एजेन्डा बोकेका थिए । पोखरा भन्ने वित्तिकै तालहरुको सहर पनि भनिन्छ, तर कुनै पनि तालको प्रभावकारी व्यवस्थापन हुन आजसम्म सकेको छैन । अतिक्रमित र ताल दोहनमै सक्रिय बन्नेहरुलाई नै माया गरिएको देखिन्छ ।
पोखरा आउने पर्यटकलाई दिनसक्नु पर्ने मनोरञ्जन तथा बसाई लम्ब्याउने योजनामा महानगर ५ वर्षको समयमा हेरेरमात्र बसेको देखियो । कामचलाउ भन्दा फरक कुनै काम नगरी वर्तमान मानबहादुर जिसीको समय कटिन लागेको छ ।
कुरा अटेरी उम्मेदवार गनेस पौडेलको पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा चलेको छ । उनले आउनुहोस केही त गरांै, अति भो अटेर गरौं भन्ने अटेरी युवा अभियान नै सञ्चालन गरिरहेको देखिन्छ ।
उनी जस्तै नेपालमा चल्तीका पार्टीले अहिलेसम्म यस्तो उस्तो भनेका भने छैनन । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टीले उम्मेदवार तय गरेसँगै चुनावी मैदानमा होमिने हुन । उनीहरुका चर्चा फेसबुक पेजमा देखिँदा नेपाली कांग्रेसले बन्द गर्न विज्ञप्ति नै निकाल्नु परेको थियो । आकांक्षा गर्ने बढेसँगै कांग्रेस गण्डकी प्रदेशले आफूखुसी नगर्न सकुलर नै गर्नु परेको थियो । समूह, भिजन र मिसन भन्दा पनि व्यक्ति हावी भएको सवै पार्टीमा देखिन थालेका छ ।
समृद्धिको यात्रालाई अंगालेको नेपालमा धेरै विषयमा गहन हुनु पर्ने हो, तर यस क्रियाकलापमा महानगर जानै सकेन भनौं कुनै उम्मेदवार जाँदै गएनन् । नेपाली राजनीतिमा भन्ने एउटा, गर्ने आर्को परंम्पराले विकासमा बाधा पुगेको छ । विकासमा राजनीति गरिनु अहित हुन्छ । यसमा सचेत युवा जमातले ध्यान दिन सक्नु पर्छ । सभ्यता बचाउने स्थानीय तह कै जिम्मेवारी हो । आर्थिक वृद्धि गर्न औधोगिक क्षेत्र सुधार गर्नु पर्छ तर महानगरमा ५ वर्षमा त्यस्तो कुनै योजनाले पूणर्ता पाएन ।
सडक, विद्युत, यातायात क्षेत्रमा सर्वसाधारणको पहुँचमा पुग्ने गरी काम नै भएको छैन । पोखरा महानगरका हरेक वडामा यातायात सेवा प्रयोग गरेर जाने वातावरण छैन । यदि गयो भने फर्कने सुविधा छैन । यो समस्या समाधान गर्न सक्ने नेतृत्व नहुँदा यो भएको हो ।
प्रधानपञ्च शिवबहादुर थापा, नगेन्द्रबहादुर रायमाझी, अम्बरबहादुर कार्की, रुद्रबहादुर कार्की, दिलीप कुमार पालिखे, रमेशबहादुर भट्टराई, गणेश शेरचन, प्रसाद गुरुङ, उत्तम पुन, सूर्यबहादुर केसी, भोला थापा नेपाली कांग्रेस, कृष्णबहादुर थापा नेकपा एमाले, हर्कबहादुर गुरुङ, भिमसेन थापा र नेकपा एमालेबाट मानबहादुर जिसीसम्म आइपुग्दा पोखराले पाएको र गुमाएको विषयमा समिक्षा हुन आवश्यक छ ।
फेवातालमा ढल मिसाउने काम गर्ने नेतृत्वलाई अवको महानगरको नेतृत्व दिने हो भने कल्पना भन्दा वाहिरको कुरा हुन्छ । पोखरा महानगरमा आलोचित हुँदा पोखेरेलीले के हरेर बसेको भन्ने चर्चा हुन्छ । फेवाताल मुहानमा निर्माण सकिदै गर्दा भत्केको बाँधको जिम्मा कसले लियो ? धनको क्षती के पोखरेली नागरिकलाई भएन र ? ।
भिजन र मिसन भएको व्यक्तिले गर्ने निणर्य कमजोर भएको पाइँदैन । यतिखेर पोखराको मेयरमा नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, नेका पुर्व पार्टी सभापति कृष्णबहादुर केसी, खानेपानी संस्थान सञ्चालक समितिका पूर्व अध्यक्ष डा. परमेश्वर पोखरेल, कांग्रेस नेता सुरेन्द्र बिजुक्छे, बिरेन्द्रनारायण बिजुक्छे, सुदिपमोहन भट्टराई, महिला नेतृ सरस्वती गुरुङ, एमालेका कृष्ण थापा, राजीव पहारी, दीपक पौडेल, दीलिप न्यौपाने, माओवादीका विश्वप्रकाश लामिछाने, भानुभक्त अधिकारी, गोमा ढकाल, राप्रपा नेपालबाट शिवप्रसाद बास्तोला, राप्रपाबाट हिक्मतजंङ कार्की, नेकपा समाजवादीबाट धनराज आचार्य लगायतको चर्चा छ ।
महानगर बनाउन सबै पार्टीका नेताहरु लागे पनि पोखरेलीले महानगरको अनूभुति पाउन सकेका छैनन । महानगर निर्माण गर्दादेखि राजनीतिक रुपले ठगिएको अवस्था छ । कास्की जिल्लामा भएको गाउँपालिका र नगरपालिकामा आएको बजेटको कुरा गर्दासमेत ठगिएको अवस्था छ । कास्की २ तथा ३ वटा नगर भएको भए बजेट व्यवस्थापनदेखि अन्य विषयमा विकासले फडको मार्ने अनुमान गर्न सकिन्छ । यस अर्थमा बजेट नै कम र अवसरबाट बञ्चित भएको मान्नै पर्ने अवस्था छ ।
ठूलो महानगर भएपनि समानुपातिक विकास भने छैन । भौगौलिक विविधतालाई जोगाउन संम्यन्त्र बनेपनि त्यसले काम नगरेको अवस्था छ । पोखराको लागि काम गरेको मान्छे खोज्नु पर्ने अवस्था छ । काम गर्न सक्ने र काम गरिरहेको व्यक्ति खोज्नु पर्ने बेला आएको छ । मतदाता शिक्षित भएसँगै उम्मेदवारको पनि चरित्र, भिजन र अव गर्छु भन्ने होइन की पहिल्यै गरिसकेकाको भिजन हेर्ने हो । उम्मेदावार सवैले दावी गर्न सक्छन र पाउँछन । तव जित्ने आधार खोज्दा वास्तवमा पोखरामात्र भन्नेलाई मन पराउने अनुमान गर्न सकिन्छ । पोखरामा शुद्ध पिउने पानी वितरण गर्ने योजनामा डा. परमेश्वर पोखरेलले जुन भुमिका निभाएका थिए आज त्यही काम जारी छ । पोखरामा पाईपलाईन विस्तार भएका छन । ५ अर्वको योजना पोखरेलीले पाउनुमा इन्जिनियर समेत रहेका पोखरेलको भिजन र लगावबाट भएको उपलब्धि संस्थागत भइरहेको छ । यस अर्थमा पोखरेली जनताले आगमी दिनमा सोच्नु पर्ने समय आएको छ ।