पोखरा, २९ माघ ।
नेपाल खानेपानी संस्थान पोखरा शाखामा डिजिटल मिटर रिडिङ कार्य सुरु भएको छ । संस्थान पोखरा शाखाले उपभोक्तालाई नयाँ विधुतीय उपकरण मार्फत घर घरमा पानीको विल उपलब्ध गराउने भएको हो । पोखरा शाखाको करिव ४५ हजार उपभोक्ताको घरमा डिभाईसबाट मिटररिडिङ कार्य फागुनदेखि सम्पुणर् रुपमा सुरु भएको कार्यालय प्रमुख आशिष कार्कीले बताए । कार्यरत मिटररिडरलाई तालिम दिन आयोजित सभामा कार्यालय प्रमुख कार्कीले उपभोक्ताको हितमा नयाँ प्रविधिमार्फत सेवा दिन लागेको बताए ।
डिजिटल मिटर रिडिङ कार्यमा उपभोक्ताको घरमा जडान भएको पानीको मिटरको अंक डिभाइसमा राख्ने वित्तिकै खपत गरेको युनिटको आधारमा विल तुरुन्त प्राप्त हुने कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।
गत पुस महिनादेखि नै विन्ध्यवासिनी इकाई कार्यालयमा परीक्षणको रुपमा प्रयोग गरिसकेको डिभाइस पुणर्रुपमा पोखरा शाखामा फागुनदेखि सुरु हुने भएको हो । विन्ध्यवासिनी इकाई कार्यालय अन्तर्गत उपभोक्ताले डिभाइसबाट विल प्राप्त गर्दा सन्तुस्टी मिलेको बताउँदै आएका छन । उपभोक्ताले आफ्नो मिटरमा भएको अंकको आधारमा विलिङ हुँदा सहज भएको उल्लेख गरेका छन । विगतमा मिटररिडिङ कार्य गर्दा अंक नदेखिँदा असहज महशुस गरिरहेका थिए ।
खानेपानी संस्थानले पछिल्लो समयमा प्रविधिमैत्री बनाउँदै लगेको छ । पानीको पैसा इसेवा, खल्ती, प्रभु पे लगायत एपमार्फत भुक्तानी गर्ने व्यवस्था गरिसकेको छ ।