पोखरा, १३ माघ ।
नेपाल निर्माण सम्बद्ध श्रमिक संघ कास्कीले २४ औं स्थापना दिवस मनाएको छ । शुभकामना आदानप्रदान गर्दै दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव राजेश पालिखेले कोरोना महामारीमा निर्माण श्रमिक जोखिममा रहेको बताए ।
उनले विकास निर्माणलाई निरन्तर दिइरहेको अवस्थामा श्रमिकको स्वास्थ जन्य जोखिमलाई सरकार र सरोकारवालाले ध्यान दिन नसकेको गुनासो गरे ।
निर्माण श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेटिने तथा त्यसलाई कार्यान्वयन गर्न सरकारले छिटो भन्दा छिटो कार्यविधि बनाउन आग्रह गरे ।
श्रमिक संघ कास्कीका अध्यक्ष राजेश बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष घनश्याम रेग्मी, कास्की जिल्ला अध्यक्ष बिजयराज भण्डारी, निवर्तमान अध्यक्ष कुलदेबी बराल, सचिव रुद्र तिमिल्सिना, यातायात मजदुर संघ गण्डकी अध्यक्ष किरणबाबु पन्त, निर्माण सम्बद्ध श्रमिक संघ पोखरा महानगर अध्यक्ष नबराज गिरी लगायतले श्रमिकका पक्षमा सरकार कमजोर भएको टिप्पणी गरेका थिए ।
श्रमिक संघका राजु भुजेलले स्वागत गरेको कार्यक्रममा संचालन लक्ष्मण ढकालले गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको सभाहलमा भएको कार्यक्रममा निर्माण श्रमिक संघका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका कार्यालय सचिव अनिता देवकोटाले जानकारी दिइन ।