पाेखरा, ७ माघ । प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो । तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो ।

खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पहिलो पटक गण्डकी प्रदेशस्तरीय आर्चरीको स्टाण्डर्ड ३० मिटरको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा म्याग्दीका सुजन पुनले ¥याङकिङ राउण्डमा २७७ स्कोरसहित शीर्ष स्थानमा रहेका थिए । उनले नकाउट चरणमा सबैलाई पराजित गर्दै अन्तत च्याम्पियन बनेका हुन् ।

रिकर्भ बो सेट प्राप्त गरेपछि पुनले आफुलाई आर्चरीप्रति थप हौसला र प्रेरणा मिलेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धा आगामी लक्ष्य रहेको सुनाउँदै सबैको सहयोगबाटै यो स्थितिसम्म आईपुगेको बताए । उनले सहयोगाता कृष्ण तुचालनप्रति हार्दिक आभार समेत प्रकट गरे । गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलाडीलाई खेल सामाग्री सहयोगले नयाँ उर्जा थपिने विश्वास व्यक्त गरे । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले पुराना आर्चरी खेलाडीको सहयोगबाट नयाँ युवालाई आर्चरीप्रति प्रोत्साहित गरेको बताए ।