काठमाडौं, २८ पुस । नव निबाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको बताएका छन् ।
बुधबार राजधानीकाे एक  सभामा महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको कब्जामा छ । नीतिगत भ्रष्टाचार व्यापक छ । नीतिमै धावा बोल्ने चरित्र राजनीतिमा छ ।”
उनले थपे, “ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम हो । यसले आम नागरिकमा एनसेल प्रकरणको जस्तो खिन्नता आएको छ । हामीले धाराको पानी मात्र हेरेर भएन, मुहान पनि हेर्नुपर्यो ।”
सुशासनका निम्ति नागरिक निगरानी चाहिने उनले औंल्याए । महरले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पदाधिकारीमाथि जघन्य आरोप लागेकाे छ । न्याय व्यवस्था भताभुंग भएको छ । १ करोड बजेटमा १५ लाखको पनि काम हुँदैन । जताततै चुहावटै चुहावट छ । सुशासनका निम्ति नागरिक निगरानी चाहिन्छ । सार्वजनिक ओहदामा बसेका व्यक्तिको आयस्रोत खोज्ने बेला आएको छ ।”